अफिगानिस्तानमा आतंकविरुद्धको युद्धमा विगत २० वर्षदेखि अल्झिएको अमेरिकी सेना अहिले हतारहतार गरेर त्यहाँबाट निस्कन थालेको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सैनिक फिर्ता लैजाने भनी घोषणा गरेकोमा अमेरिकी सैनिकहरू सैन्य अड्डा खाली गर्नका लागि हतार गरिरहेका हुन् ।
यस्तो अवस्थामा अमेरिकी सैनिकहरूको हातहतियार अफगान सेनाले नपाएर तालिबानको हातमा पुगिरहेको छ ।
फोर्ब्स पत्रिकाको रिपोर्टअनुसार, विगत एक महिनामा तालिबानले अमेरिकी सेनाका ७०० ट्रक र बख्तरबन्द गाडीहरूमा कब्जा जमाइसकेको छ । होवित्जर तोप र सैन्य गाडी हम्वी पनि तालिबानको कब्जामा परेको छ ।
अफगानिस्तानका कतिपय जिल्लामा लडाइँ नगरिकनै सरकारी सेनाको अस्तित्व लगभग समाप्त भएको छ ।
अमेरिकी सेनाले यी हतियारहरूलाई बेच्न वा दान दिनको साटो खुला छोडिदिएपछि तालिबानको खुदो पल्टेको हो । अब तालिबान आउँदो दिनमा थप मजबूत हुने सम्भावना छ ।
अमेरिकी सेना अचानक फर्केपछि अफगानिस्तान सरकार लगभग समाप्त भएको छ । अब तालिबानले राजधानी काबुलमा पनि छिट्टै कब्जा जमाउने भएको छ ।
ओरीक्स ब्लगमा प्रकाशित ओपन सोर्स इन्भेस्टिगेटिभ रिपोर्टमा लेखब स्टिजन मित्जर र जोस्ट ओलीमन्सले तालिबानको कब्जामा परेका अमेरिकी गाडी र हातहतियारको तस्वीर पोस्ट गरेका छन् ।
अप्डेट गरिएको रिपोर्टमा बतायएअनुसार, तालिबानले ७१५ वटा हलुका वाहन हात पारेको र तीमध्ये ६५ वटा नष्ट भएका छन् । तालिबानसँग यसभन्दा निकै धेरै हतियार र गाडी भएको अनुमान छ ।