
ललितपुरको सानेपामा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।
मृतक भारत घर भएका ४९ वर्षीय सत्यनारायण तमिली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले एट्लान्टिक कम्प्युटर प्रा.लि. न्युरोडमा काम गर्दै आएका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुनसक्ने देखिएको छ । हत्या गर्ने व्यक्ति झ्यालबाट प्रवेश गरेको र ह्यामरले टाउकोमा प्रहार गरी हत्या गरेको देखिएको छ ।
शव गन्हाउन थालिसकेकाले शुक्रवार नै हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सानेपाको गुसिटोलमा रहेको राममन्दिरनजिकै फ्ल्याट लिएर बस्दै आएका ती पुरुषको शव घोप्टो परेको अवस्थामा फेला थियो ।
उनको श्रीमतीको केही वर्षअघि मृत्यु भएको र छोरी विवाह गरी भारतमा नै बस्दै आएको खुलेको छ ।
उनी काठमाडौंमा फ्ल्याटमा एक्लै बस्दै आएका थिए । उक्त घरमा निषेधाज्ञापछि तलमाथिका अन्य फ्ल्याट पनि खाली रहेकाले उनी एक्लै थिए ।
खाना बनाउनका लागि उनले एक महिलालाई जिम्मा दिएका थिए । ४० वर्षीया ती महिला दिनदिनै आएर खाना बनाइदिएर जाने गरेकी थिइन् ।
शुक्रवार खाना खुवाएर फर्किएकी महिला शनिवार बिहान खाना बनाउन आउँदा ढोका बन्द थियो ।
भित्रबाट च्यानल गेट बन्द रहेको देखेपछि फोन गरेको तर फोन नउठेपछि फर्किएको उनले प्रहरीलाई बताएकी छन् ।
आइतवार बिहान पनि फोन नउठेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् ।
तालिमप्राप्त कुकुरको सहयोगमा घटनाको प्रारम्भिक अनुसन्धान गरिएको छ ।
कोठाबाट निस्किएर केहीबेर बाहिर घुमेको कुकुर यसै फर्किएकाले कुनै संकेत प्राप्त हुन सकेको छैन ।
घटनास्थललाई सिल गरी थप अनुसन्धान भइरहेको छ ।