
बाढी पहिरोका कारण यस वर्ष ३९ जनाको मृत्यु र ३१ जना बेपत्ता भएका छन् । उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले राष्ट्रिय सभा बैठकमा आइतबार जेठ ३१ देखि आजसम्म ३९ जनाको मृत्यु, ३१ बेपत्ता र ४६ जना घाइते भएको जानकारी गराएका हुन् ।
‘सिन्धुपाल्चोक, बाजुरा, गोरखा, तनहुँ, धादिङ, चितवन, डोटी लगायतका २२ जिल्लामा ३९ जनाको मृत्य, ३१ जना बेपत्ता र ४६ जना घाइते भएका छन्,’ मन्त्री पौडेलले भने ।
मनसुनजन्य विपद्का घटनाबाट सिन्धुपाल्चोक, मनाङ, लमजुङ, कास्की, गोरखा, अर्घाखाँची, खोटाङ, तनहुँ, सर्लाहीलगायतका जिल्लाहरूमा ५०५ निजी घर पूर्ण रूपमा क्षति भएका र ११२ घरहरूमा आंशिक क्षति भएको मन्त्री पौडेलले जानकारी दिए । विभिन्न ३६ सरकारी कार्यालयका भवनहरू क्षतिग्रस्त भएका छन् भने ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ ।
गृहमन्त्री पौडेलले सिन्धुपाल्चोकमा ७, मनाङमा २, चितवनमा २, तनहुँमा १, मोरङमा १, उदयपुरमा १ र सिरहामा १ गरी जम्मा १५ वटा मोटरेबल पक्की पुलको क्षति भएको जानकारी दिए ।