
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि वैशाखदेखि शुरू गरिएको निषेधाज्ञाको अवधि यही असार ३१ गतेसम्म थपिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।
‘कोभिड–१९ को संक्रमण घटेको भए पनि नियन्त्रण हुन नसकेकाले निषेधाज्ञा पहिलेभन्दा केही खुकुलो गरी असार ३१ गतेसम्म थपिएको छ,’ उनले भने।
थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
यसैगरी सार्वजनिक सवारी साधनहरू पनि जोरबिजोर प्रणालीका आधारमा जिल्लाभर सञ्चालन गर्न सकिने अनुमतिसमेत दिइएको छ ।
उता बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।
विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाउने भएका छन् ।
निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जिम हल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय भएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले जनाएको छ ।
भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकुद गतिविधिलगायत कार्यक्रम गर्न नपाइने उक्त सूचनामा उल्लेख गरिएको छ ।
जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ३०० पुगेको छ । कोरोनाकै कारण जिल्लामा ११ जनाले अस्पतालमै उपचारका क्रममा ज्यान गुमाइसकेका छन् ।