०६ असार २०८३, शनिबार

नेपाली सेनाले प्रहरीलाई दियो यी हतियार

नेपाली सेनाले प्रहरीलाई दियो यी हतियार

नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न किसिमका हतियार तथा एम्युनिसन हस्तान्तरण गरेको छ । 

जंगीअड्डामा आज भएको कार्यक्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको ४२ हजार ३७० वटा एम्युनिसन र सम्बद्ध सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

जेठ १७ को मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाले विनाशुल्क विभिन्न प्रकारका राइफल र मेसिनगनहरू गरी १० हजार ८१८ नाल र सोको एम्युनिसन १४ लाख ९४ हजार १६ वटा तीन चरणमा उपलब्ध गराउने निर्णय गरेको थियो ।

सोहीअनुसार पहिलो चरणमा सो सामग्रीहरू हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ । 

नेपाल प्रहरीका अनुसार प्रहरीलाई तालिम, विशिष्ट र अतिविशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरू सञ्चालन गर्ने प्रयोजनका लागि हतियार उपलब्ध गराउन सरकारले निर्णय गरेको हो । 

बाँकी हतियार तथा एम्युनिसन २०७९ वैशाख महिनासम्ममा हस्तान्तरण गरिने बताइएको छ । 

उपलब्ध गराइएका हतियारहरूको मर्मत सम्भार तथा अपरेसन तालिमसमेत नेपाली सेनाले नेपाल प्रहरीलाई दिनेछ । 

नेपाली सेनाको तर्फबाट हतियार तथा उपकरण महाशाखा प्रमुख महासेनानी राजेन्द्र मणि गिरी र नेपाल प्रहरीको तर्फबाट प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभागका प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाबीच हतियार तथा एम्युनिसन हस्तान्तरणसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्