
कोरोना महामारीलाई मध्यनजर गर्दै बलिउड चलचित्रहरू ओटीटी प्लेटफर्ममा रिलिज भइरहेका छन् । यसै सिलसिलामा सैफ अलि खान र अर्जुन कपुरको चलचित्र ‘भूत पुलिस’ पनि ओटीटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने भएको हो ।
प्लेटफर्मले प्रदर्शनको घोषणा गरेको छ । रिलिज मिति भने तय भएको छैन ।
‘भूत पुलिस’ हरर कमेडी चलचित्र हो, जसको निर्देशन पवन कृपलानीले गरेका हुन् । सोमवार चलचित्रमा सैफ निभाएको भूमिका ‘विभूति’ को फर्स्टलुक सार्वजनिक गरिएको छ ।
सैफ र अर्जुनका साथै ज्याकलिन फर्नान्डिस, यामी गौतम र जावेदन जाफरी पनि मुख्य भूमिकामा छन् ।
‘भूत पुलिस’ ओटीटी प्लेटफर्ममा रिलिज हुने संकेत निर्माता रमेश तौरानीले केही दिन पहिले गरेका थिए । उनले भारतीय एक सञ्चारमाध्यमसँग ओटीटी प्लेटफर्ममा रिलिज गर्नुको विकल्प नभएको बताएका थिए । ‘नोभेम्बरअघि सिनेमाघर सञ्चालनमा आउने सम्भावना छैन त्यही पनि ५० प्रतिशत क्षमताका साथ,’ उनले भनेका थिए, ‘ओटीटी प्लेटफर्ममा रिलिज गर्ने विषयमा कुनै कलाकारले पनि आपत्ति जनाएका छैनन् ।’