
काठमाडौं, २४ जेठ — अभिनेताबाट राजनीतिक नेता बनेका परेश रावलले फेरि एउटा विवाद जन्माउन सक्ने बयान दिएका छन् । हालैको बयानमा उनले पाकिस्तानी सिरियल र फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

परेश रावलका अनुसार कलाकार र क्रिकेटरहरू बम फ्याँक्दैनन् । ‘हाम्रा टीभी सिरियलहरू लास्टै बोरिङ हुँदै गइरहेका छन् । तर पाकिस्तानी शोमा ताजापन छ । हमसफर सिरियललाई नै हेर्नुस् । मैले मौका पाएँ भने पाकिस्तानी सिरियलमा अवश्य काम गर्छु किनकि त्यहाँको कथा, लेखन, भाषा र अभिनय सबै उम्दा छन्,’ रावलले भने ।
परेशले केही समयअघि लेखिका अरुन्धती रायका बारेमा विवादास्पद बयान दिएका थिए । कश्मीरमा ढुंगा फ्याँक्नेहरूबाट सेनालाई बचाउन सेनाको गाडीमा अरुन्धतीलाई बाँधिदिए हुन्छ भनेका थिए उनले । यसमा ठूलै हंगामा भएको थियो ।
अनि पाकिस्तानी कलाकार फवाद खानले अभिनय गरेको बलिउड फिल्म ऐ दिल है मुश्किललाई पनि रिलिजमा धेरै समस्या आएको थियो ।
एजेन्सी