०१ असार २०८३, सोमबार

नारायणगढ–मुग्लिन सडक : खुल्दै, बन्द हुँदै

असार २२, २०७८
नारायणगढ–मुग्लिन सडक : खुल्दै, बन्द हुँदै
फाइल फोटो

वर्षा शुरू भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृंखला चलिरहेको छ ।

पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने समस्या यतिबेला बढेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार भरतपुर महानगरपालिका–२९ को सेतीदोभान, इच्छाकामनाको चारकिलो, पाँचकिलो, १४ किलो लगायतका ठाउँमा पहिराले विगत १ हप्तायता दुःख दिइरहेको छ ।

मंगलवार मध्याह्नमा सेतीदोभानमा सडक खुलाउन जुटिरहेका उनले भने, ‘लेदो माटो र ढुंगा झरिरहेकाले सडक सफा गर्न कठिन भएको छ ।’

पछिल्ला वर्षहरूमा पहिरो नखसेको सो ठाउँमा एकाएक पहिरो खसेको हो । सडकबाट झण्डै ८० मिटरमाथि बारी छ । त्यहाँ ६ मिटर जति माटो मात्रै रहेको उनले जानकारी दिए । त्यस ठाउँमा खेती गरिँदै आएको छ । सोही ठाउँबाट पहिरो तल खसेको छ ।

भीरको ४० मिटर जतिमा पानीको मूल फुटेको छ । त्यहाँबाट पानी बगिरहेकाले पनि पहिरो रोक्न कठिन भएको छ । सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको उनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापा सडक खुलाउन मुस्किल भएको बताउँछन् । १ हप्तायता सो सडकले दुःख दिइरहेको छ । उनले भने, ‘अब सडक खुल्यो भन्ने बेलामा सेतीदोभानमा पहिरो खस्न शुरू गरेको हो ।’ 

असार १८ गते साँझदेखि खसेको पहिराले निरन्तर दुःख दिइरहेको छ । कतिबेला के हुने हो, निकै जोखिम बढेको भन्दै उनले भने, ‘सबैलाई म अनुरोध गर्न चाहन्छु, हिँड्नैपर्ने भएमा वैकल्पिक सडक प्रयोग गर्नुहोस् ।’

जाममा परेकाहरू बिरामी भएका, खान नपाएका र सडकमा उच्च जोखिममा रहेका भन्दै उनले पूर्वबाट आउने सवारीलाई बर्दिबास र हेटौंडाबाट राजधानी छिर्न सुझाव दिए । सडक पार गर्नका लागि सडक र बाहिर लाम बसेका सवारीको संख्या ३ हजारभन्दा बढी पुगिसकेको भन्दै उनले विगत ३ दिनदेखि सडक खुल्ने प्रतीक्षामा ठूला सवारी साधन कुरिरहेको जानकारी दिए ।

भरतपुरका खुला ठाउँमा ठूला सवारी साधन रोकेर राखिएको छ । नारायणगढ–मुग्लिन सडकका फराकिला सडक र खुला ठाउँमा पनि सवारी रोकिराखिएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्