तिब्बतबाट निर्वासित भई भारतमा बसिरहेका धर्मगुरु दलाई लामा मंगलवार ८६ वर्षका भएका छन् ।
भारतको हिमाचल प्रदेशमा रहेको मकलियोडगञ्जमा रहेका दलाई लामाको उत्तराधिकारी चिनियाँ कम्युनिस्ट पार्टीले आफैं छनोट गर्न खोजेको छ । तर दलाई लामाले आफ्नो नयाँ अवतारमा चीनले चासो देखाउनु आधारहीन रहेको बताएका छन् ।
विगत ६२ वर्षदेखि निर्वासनमा रहेका दलाई लामा संसारभरि रहेका तिब्बतीहरूको संघर्षका प्रतीक हुन् । उनले मर्नुअघि शान्सी प्रान्तमा रहेको वुताइ शान नामक पवित्र तीर्थस्थलको भ्रमण गर्न पाए हुन्थ्यो भनी कामना गरेका छन् । उक्त पर्वतलाई बोधीसत्त्व मञ्जुश्रीको स्थान मानिन्छ ।
तर दलाई लामालाई आफू कहिले पनि तिब्बत फर्किन पाउँदिनँ भन्ने थाहा छ । चिनियाँहरूले उनलाई पृथक्तावादी र आतंकवादी भन्ने गरेका छन् । चीनका राष्ट्रपति सी चिनपिङले तिब्बतलाई चिनियाँकरण गर्न खोजेका छन् र दलाई लामा मात्र त्यस प्रक्रियाका अवरोधक हुन् ।
गत अगस्ट महिनामा सीले एक उच्चस्तरीय बैठकमा तिब्बतका लागि तीन कदमको योजना सार्वजनिक गरेका थिए । पहिलो कदम तिब्बती बौद्ध धर्मको चिनियाँकरण अर्थात् चिनियाँ चरित्रको बौद्ध धर्म हो । दोस्रो कदम तिब्बतमा राजनीतिक तथा विचारधारात्मक शिक्षालाई बलियो बनाउने काम हो । अर्थात् तिब्बतीहरूलाई कम्युनिस्ट शिक्षा दिलाउने काम । तेस्रो कदम तिब्बत वरिपरि सीमामा प्रतिरक्षा बलियो बनाएर तिब्बतलाई अभेद्य किल्ला बनाउने काम हो ।
भारतसँगको सैन्य गतिरोधलाई तिब्बत तथा सिन्ज्याङको सुरक्षा बढाउनका लागि चिनियाँ जनमुक्ति सेनाले उपयोग गरिरहेको तथ्य हो । अहिले तिब्बत र सिन्ज्याङमा सैनिक, रकेट, क्षेप्यास्त्र र युद्धविमानहरू व्यापक मात्रामा तैनाथ गरिएको छ । तिब्बत र सिन्ज्याङमा हानलाई बलियो बनाउन तथा भारतलाई अशान्ति मच्चाउन नदिन चीनको बलियो तयारी छ ।