
प्रतिबन्धित बाघको छालासहित काठमाडौंको ठमेलबाट चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं बालुवाटार बस्ने चीन युनान प्रान्त घर भएका ३१ वर्षीय झाओ पेनुचेङ, काठमाडौं ठैटी बस्ने चीन हुबे प्रान्त घर भएका ३४ वर्षीय म जिङबिन, चीन हेनान प्रान्त घर भएका ३१ वर्षीय निउ युलियाङ र चीन जुआङगदोन्ज प्रान्त घर भएका २८ वर्षीय पेङ हुइ रहेका छन् ।
महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले सोमबार राति साढे १० बजे काठमाडौं-१७, ज्याठा गल्लीभित्र चाइनिज नागरिकले सञ्चालन गरेको जियान्यु खाजन नामक होटेलबाट बाघको दाँत, कस्तूरीको बिनासहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाबाट नगद ८ लाख ८९ हजार १५५ रूपैयाँ, जुवा खेल्न प्रयोग हुने टेबल २ थान, चाइनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१०, अन्दाजी २० केजी रुद्राक्ष, सात थान मोबाइल सेट, बुद्धचित्त ९०० थान, गाईको छाला एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै चाइनिज बैंकका एटीएम कार्ड ३५ थान, भौचर पाना (लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, खुकुरी २ थान र तरबार एक थान बरामद गरिएको छ ।


