
हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको संक्रमण बढ्नसक्ने चेतावनी दिइएको छ ।
अस्पतालमा आजभोलि पानीजन्य रोगको बिरामी आउने गरेको जिल्ला अस्पताल मनाङका डा. प्रतिभा गौलीले बताइन् ।
डा. गौलीले भनिन्, ‘बाढीपहिराले खाने पानीका पाइप र मुहान बगाएपछि जिल्लामा शुद्ध पिउने पानीको अभाव भएको छ । आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ । बाढीपहिराबाट विस्थापित भएका नागरिक एउटै कारागार भवनमा ३०० जना बसेका छन् । त्यस कारणले कोभिड–१९ को मात्र नभएर पानीजन्य रोग फैलिने हो कि भन्ने हाम्रो चिन्ता छ ।’
अस्पतालमा आजभोलि पानीजन्य सम्बन्धित रोगका बिरामी धेरै आउने गर्दछन् । ‘अहिले नै पानीजन्य रोगको संक्रमणले महामारीको रूप त लिएको छैन तर यस्ता सरुवा रोगदेखि सचेत हुनुपर्दछ,’ उनले भनिन् ।
यस वर्ष कोरोना महामारीको उच्च जोखिम त्यसमाथि बाढीपहिराले पानीजन्य रोगको संक्रमण बढ्नसक्ने भन्दै डा. गौलीले जिल्लावासीलाई सचेत रहन आग्रह गरिन् ।
उनी भन्छिन्, ‘बाध्यतावश जिल्लामा बाढीपहिरोबाट विस्थापित नागरिक एकै ठाउँमा बसेका छन् । तर बस्दा सरसफाइदेखि लिएर खानेपानीलाई उमालेर हुन्छ कि अन्य शुद्वीकरणका उपाय अपनाएर मात्र पिउन जिल्लावासीलाई अनुरोध गर्दछु ।’
वर्षात् शुरू भएसँगै ब्याक्टेरिया, भाइरस तथा जीवाणु बढी सक्रिय हुने गर्दछ । गर्मी एवं वर्षायाममा रोगको प्रकोप अन्य यामको तुलनामा बढ्ने गर्दछ । जसले गर्दा यो मौसममा झाडापखला, जण्डिस, भाइरल ज्वरो, डेङगु, औंलौ, सर्पदंश लगायतका बिरामीको संख्या बढ्ने गरेको चिकित्सकको भनाइ छ ।
जिल्लामा अबिरल वर्षापछि आएको बाढीपहिराले विद्युतीय क्षेत्रमा पुर्याएको क्षतिबाट अस्पताल प्रभावित भएको छ । अस्पतालमा प्रयोगशाला सञ्चालनमा कठिनाइ भएको पनि डा. गौलीले बताइन् । अस्पतालमा भएको जेनेटर २–२ घण्टा मात्र खोलेर प्रयोगशाला सञ्चालन गर्नुपरेको डा. गौलीले बताइन् ।
जिल्लामा बाढीपहिरो पश्चात् आउनसक्ने विभिन्न खालका महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य कार्यालय मनाङले काम अगाडि बढाएको छ । जिल्लामा बाढीपहिरो गएपछि क्लोरिन ट्याब्लेटको माध्यमबाट खानेपानीलाई शुद्धीकरण गरिएको जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।
उनले भनिन्, ‘अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य छन् । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले पानीमा क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरेका छौं, यसका साथै पानीजन्य रोगबाट संक्रमण बढ्न सक्ने भन्दै सूचनामूलक सन्देश दिँदै हिँडेका छौं ।’