
युरोपका दुई शीर्ष टोली इटली र स्पेनबीच मंगलवार राति बेलायतको वेम्ब्लीमा युरोकपको सेमीफाइनल खेल हुन लागेको छ ।
सन् २०१२ को युरोकपको फाइनलमा यी दुई टोली भिडेका थिए । त्यतिखेर स्पेन ४–० को विशाल अन्तरले आफ्नो उपाधि जोगाउन सफल भएको थियो ।
तर अहिले इटली त्यतिबेलाको जस्तो कमजोर छैन । क्वार्टरफाइनलमा बेल्जियमलाई हराएर उच्च मनोबल प्राप्त गरेको इटलीले लगातार ३२ खेलमा पराजय भोगेको छैन ।
इटलीको डिफेन्स परम्परागत रूपमै बलियो हो तर यससँगै अहिले प्रशिक्षक रोबर्तो मानचिनीले आक्रमणलाई पनि सबल बनाएका छन् । टीममा युवा र अनुभवी दुवैथरी खेलाडीको सन्तुलन कायम छ ।
उता स्पेनले भने यस प्रतियोगितामा मिश्रित किसिमको प्रदर्शन गरेको छ । कुनै खेलमा उसको उम्दा प्रदर्शन देखिन्छ भने कुनैमा औसत ।
क्वार्टरफाइनलमा स्पेनले स्विटजरल्यान्डको चुनौती पन्छाउन निकै संघर्ष गर्नुपरेको थियो । पेनाल्टीले मात्र खेलको नतिजा निर्धारण गरेको थियो ।
स्पेनका गोलकीपर उनाइ सिमोन उच्च फर्ममा छन् । अनि स्पेनका अट्याकहरूले प्रतियोगितामा १२ गोल गरिसकेका छन् । तर राम्रो पास निकाले पनि उम्दा फिनिश गर्न नसक्ने कमजोरी स्पेनमा देखिएको छ ।
सन् २०१२ मा युरोकप जितेदेखि स्पेन कुनै पनि प्रतियोगितामा सेमीफाइनलसम्म पुग्न सकेको थिएन ।
इटलीका खेलाडीको कुरा गर्दा बेल्जियमसँगको खेलमा लियोनार्दो स्पिनाज्जोला घाइते भएर प्रतियोगिताबाट बाहिरिएपछि इटलीलाई झड्का लागेको छ । उनको स्थानमा इमरसन पाल्मिएरीलाई ल्याइने सम्भावना छ ।
अलेस्सान्द्रो फ्लोरेन्जी चोटबाट मुक्त भएकाले आज खेल्न सक्छन् । मार्को भेरात्तीले राम्रो प्रदर्शन गरिरहेका छन् र उनको आजको खेलले पनि परिणाम निर्धारण गर्न सक्छ । त्यस्तै आक्रमणमा निकोलो बारेला र सिरो इम्मोबाइलमा इटली ढुक्क छ ।
स्पेनका पाब्लो साराबिया आजको खेलका लागि उपलब्ध नहुन सक्छन् । उनलाई दानी ओल्मोले विस्थापित गर्ने सम्भावना छ । एमरिक लापोर्तले प्रतियोगितामा स्पेनका लागि पूरै अवधि खेलेका छन् र आज पनि उनी फिट छन् ।
आक्रमणमा अल्भारो मोराता र जेरार्ड मोरेनोले राम्रो प्रदर्शन गर्न चुकेकाले मोरेनोको स्थानमा फेरान टोरेस ल्याइन सक्छन् ।
इटलीको सम्भावित स्टार्टिङ लाइनअप यसप्रकार हुनेछ :
डोन्नारुम्मा, डी लोरेन्जो, बोनुच्ची, चिएलिनी, इमरसन, बारेला, जोर्गिन्हो, भेरात्ती, चिएसा, इम्मोबाइल, इन्सिग्ने
स्पेनको सम्भावित स्टार्टिङ लाइनअप यसप्रकार हुनेछ :
सिमोन, आज्पिलिस्वेतो, लापोर्त, टोरेस, आल्बा, कोके, बुस्केट्स, पेड्री, टोरेस, मोराता, ओल्मो
इटलीले यस प्रतियोगितामा निकै शानदार प्रदर्शन गरिरहेकाले उसैले यो खेल जित्ने अनुमान गर्न सकिन्छ ।