
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा मंगलवार जगाती, सूर्यविनायक र दूधपाटीको भेटनरी तथा चश्मा पसलको अनुगमन गरिएको छ ।
अनुगमनमा म्याद नाघेको औषधि, विषादी पसलमा जथाभावी औषधि तथा पशुलाई बेहोस बनाउने निन्जा र केमाइन अनुमतिविना राखिएको, फ्रिज सफा नगरी ढुसी पारेर इन्जेक्सन औषधि राखेको पाइएको छ ।
स्थानीय मञ्जु भेट फर्मामा फ्रिजमा ढुसी परेको पाइएको छ भने म्याद नाघेको औषधि जफत गरी नष्ट गरिएको छ । विष्णु भेटनरी फर्मामा ढुसी परेको फ्रिज राखिएको र औषधि विभागको अनुमति नलिई बिक्री गरिएको पाइएको छ ।
स्ट्रेराइल डाइलुएन्ट, मारेक र इन्जेक्सन बुरसल जफत गरी नष्ट गरिएको छ । डे«ग पोल्ट्री फार्मले विभागको अनुमति नलिई औषधि बिक्री गरेको पाइएको छ ।
राम पासा भेटनरी, पासा भेटनरी, उज्ज्वल भेटनरी सेन्टर लगायतमा औषधि विभागको अनुमतिविना नै सञ्चालन भएको र पसलमा औषधि दिने व्यक्ति फार्मासिस्ट वा औषधि विभागको अनुमतिपत्र पाएका व्यक्ति नभएको पाइएको छ ।
अनुगमनमा रहेका डा. प्रणव जोशीले ढुसी आएको फ्रिजमा राखिएको इन्जेक्सन औषधिबाट पशुपन्छीमा सरेर तिनको मासु उपभोग गर्दा कालोढुसीको बिरामी देखापरेकोे बताए ।