
मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ ।
हाल प्रदेश २ र बागमतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रूपमा बदली छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि बदली रहनेछ ।
प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति देशका अधिकाश भूभागमा बदली रहनाका साथै प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १ का १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
बुधवार पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश १, २, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
बिहीवार पनि यही मौसमी प्रणाली कायम रहनेछ । महाशाखाको पछिल्लो विवरणमा मंगलवार काठमाडौंको अधिकतम ३० र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस छ । विराटनगरमा सबैभन्दा बढी ५८ र काठमाडौंमा २८ मिलिमिटर वर्षामापन गरिएको छ ।