मनाङ जिल्लामा बाढीपहिरोका कारण बालबालिकालाई लगाइने नियमित खोप सेवा कार्यक्रम प्रभावित भएको छ ।
बाढीपहिरोले जिल्लामा आवागमन रोकिएपछि बालबालिकालाई नियमित खोप लगाउन स्वास्थ्य संस्थामा लैजान नसकिएको अवस्था छ ।
बालबालिकालाई लगाइने खोप अहिले जिल्लाका ४ स्थानीय तहमा प्रभावित भएको जनस्वास्थ्य कार्यालयका प्रमुख बद्री आचार्यले जानकारी दिए ।
उनले भने, ‘नियमित खोप बालबालिकाहरूका लागि अत्यावश्यक सेवा अन्तर्गत पर्दछ । बाढीपहिरोले मानवीय स्वास्थ्यमा ठूलो असर पारेको छ । एक ठाउँबाट अर्कोठाउँमा जान सकिरहेको छैन । स्वास्थ्यकर्मी पनि बाढीपहिरोका चपेटामा परेका छन् ।’
बाढीपहिरोका कारण बच्चालाई खोप लगाउनका लागि स्वास्थ्य संस्था जान सकेका छैनन् । खोपका अभावमा बालबालिकामा रोगहरूसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने प्रमुख आचार्य बताउँछन् । उनका अनुसार जिल्लामा अहिले दादुरा–रुबेला तथा कोभिड–१९ विरुद्ध लगाइने खोप रोकिएको छ ।
आगामी साउनदेखि बाढीपहिरोले प्रभावित गाउँपालिकामा खोप कार्यक्रम शुरू गर्ने तयारी भएको उनले जानकारी दिए । प्रत्येक वर्ष जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क लगाउने गरिएको छ ।