
महालक्ष्मी नगरपालिकाले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ अन्तर्गत स्थानीय किसानलाई २२ लाख रुपैयाँ सहयोग गरेको छ ।
नगरपालिकालाई कृषिको माध्यमबाट अघि बढाउने योजनाबमोजिम मंगलवार महालक्ष्मीले सो मूल्य बराबरको रकम किसानलाई सहयोग गरेको हो ।
महालक्ष्मीलाई तरकारीका साथै पशुपालन व्यवसायमा आत्मनिर्भर बनाउँदै अघि बढ्न २१ कृषकलाई २२ लाख रुपैयाँ मूल्य बराबरको चेक हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले बताए ।
उनले भने, ‘यहाँ कृषि फर्म दर्ता गरी तरकारीलगायत पशुपालन गरी बसेका वडा नम्बर ८ लुभु र नम्बर ९ लामाटारका किसानको व्यवसाय अभिवृद्धि गर्न सहयोग गरेका हौं ।’
आगामी दिनमा पनि कृषि बीमा तथा प्रविधि हस्तान्तरण अनि बजारीकरण र व्यवसाय स्तरोन्नतिमा थप सहयोग गर्ने योजना बनाइरहेको श्रेष्ठले जानकारी गराए ।
नगरपालिकामा विगत लामो समयदेखि सञ्चालनमा रहेको ‘प्रतीक एग्रो फरेष्ट प्रडक्सन’ नामक बोटबिरुवा उत्पादन गर्ने नर्सरीलाई अर्काे २ लाख सहयोग गरेको कृषि शाखा अधिकृत टंक अधिकारीले बताए । उनले भने, ‘यस नर्सरीले तरकारी फलफूललगायत वनजंगलमा लगाइने बिरुवासमेत उत्पादन र कारोबार गर्दै आएकाले आउँदा दिनमा अझ धेरै बिरुवा निकालोस् भन्ने मनसायका साथ सहयोग गरेका हौं ।’
महालक्ष्मीको लुभु र लामाटार २ वडामा प्रर्याप्त खेतीयोग्य जमिन रहँदा त्यहाँका मेहनती किसानलाई आर्थिक सहयोग गरी हराभरा बनाउन लागि परेको अधिकारीको भनाइ छ ।
महालक्ष्मीले चालू आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाको तर्फबाट यसअघि ६० लाख १० हजार रुपैयाँ बराबरको प्लास्टिक टनेल, हाते ट्रयाक्टर, बीउबिजन लगायत थुप्रै बस्तु वितरण गर्नाका साथै प्रदेश सरकारबाट आएको अर्काे थप ५ लाख रुपैयाँको सोही तवरको सामग्री पटक–पटक गरी हस्तान्तरण गरिसकेको अधिकारीले जानकारी गराए ।
महालक्ष्मीले असार ११ गते ‘नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत नगरपालिकामा कृषि, पशुपालन, पर्यटन, सिलाइ–कटाइ, हस्तकला, शिक्षा, सूचना प्रविधि र खेलकूदजस्ता क्षेत्रमा उद्यम गर्दै आएका २५ व्यक्तिलाई उनीहरूको कामका मूल्यांकनका आधारमा ३५ लाख रुपैयाँ सहयोग गरेको थियो ।
महालक्ष्मीले केही दिनअघि आउँदो आव २०७८/०७९ का नीति तथा कार्यक्रममा नगरपालिकामा लक्षित वर्गको क्षमता विकास, रोजगारी र आयआर्जन अभिवृद्धि गर्न व्यावसायिक कृषि प्रवद्र्धन, व्यवसायीकरण, विविधिकरण, वैज्ञानिकरणका साथै बजारीकरण गर्न ७३ लाख रुपैयाँ विनियोजन गर्नाका साथै पशु विकास कार्यक्रमतर्फ ३२ लाख ५५ हजार र सार्वजनिक जग्गा संरक्षणमा ३० लाख विनियोजन गरेको कुरा सार्वजनिक गरिएको थियो ।