
काठमाडौं, २४ जेठ — सलमान खानको नयाँ फिल्म ट्युबलाइट असार ९ गते प्रदर्शन हुँदैछ । फिल्म रिलिज हुन १६ दिन बाँकी रहँदा सलमान खान फिल्म प्रमोसनमा भिडेको भएपनि अपेक्षाकृत माहोल बनाउन सफल नभएको जस्तो देखिन्छ ।

सलमानका अघिल्ला फिल्महरू बजरंगी भाइजान र सुल्तानका बेलामा जस्तो बज अहिले देखिँदैन । फिल्मको टीजर र ट्रेलरलाई दर्शकले खासै रुचाएनन् । हुन पनि लिटल ब्वाई नामक हलिउड फिल्मको कपी भन्ने प्रस्टै थाहा भएपछि दर्शकलाई फिल्मप्रति खासै जिज्ञासा रहेन ।
त्यसमाथि फिल्मका गीतहरू पनि लोकप्रिय बन्न सकेनन् । सुल्तानको जग घुमेया गीतले माहोल सिर्जना गरेको थियो ।
यही वर्ष रिलिज भएको फिल्म बाहुबली २ को जबर्जस्त अपेक्षा थियो र हाइपअनुसार फिल्म चल्यो पनि । तर ट्युबलाइटका लागि दर्शकमा त्यही उन्माद देखिएन ।
ट्रेलर हेरेका दर्शकले एक मन्दबुद्धि हिरोले भिलेनहरूसँग कसरी भिड्न सक्ला र भन्ने किसिमका टिप्पणी गर्न थालेका छन् । त्यसैले कबीर खानले निर्देशन गरेको यो फिल्म बक्स अफिसमा खासै कमाल देखाउन सक्नेमा ट्रेड एनालिस्टहरू आशावादी छैनन् । सलमानको सुपरस्टारडमका कारण फिल्मले दुई अर्बसम्म त कमाउला कि भन्ने उनीहरूको अनुमान छ ।
एजेन्सी