काठमाडौँ, २५ जेठ - प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नवगठित मन्त्रिपरिषद्मा प्रधानमन्त्रीसहित नेपाली काँग्रेसका चार, नेकपा (माओवादी) केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री रहेका छन् ।

फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदार उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री बनेका छन् । त्यस्तै, माओवादी केन्द्रबाट कृष्णबहादुर महरा उपप्रधान तथा परराष्ट्र मन्त्री र जनार्दन शर्मा गृह मन्त्री, प्रभु शाह विना विभागीय मन्त्री बनेका छन् ।
नेपाली काँग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधान तथा शिक्षा, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फरमुल्लाह मन्सुरलाई श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी दिइएको छ । नयाँ मन्त्रिपरिषद्मा सहभागी सात मन्त्रीमध्ये सबै यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । प्रधानमन्त्री देउवा नै चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।