काठमाडौँ, २५ जेठ - पहिलो पटक दुई दलित युवाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
सफल आरोहण गर्ने युवामा प्रकाश सुन्दास र विजय विश्वकर्मा हुनुहुन्छ । बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा आरोही सुन्दासले सगरमाथा आरोहणको अनुभव सुनाउँदै १० वर्षदेखि नेपालको छ हजार मिटरभन्दा अग्लो आठ वटा शिखर चढेको र सगरमाथा आरोहणबाट आफूले गौरवको अनुभूति गरेको बताउनुभयो ।
गएको जेठ ८ गते सगरमाथाको सफल आरोहण गर्नुभएका सुन्दासले अब दलित महिलालाई पनि अभियान नै सञ्चालन गरेर सगरमाथाको आरोहण गर्न उत्प्रेरित गर्ने बताउनुभयो ।
अर्का आरोही विश्वकर्माले आर्थिक अभावका कारण आफूले सगरमाथा आरोहण गर्ने अवसर नपाउने हो कि भन्ने चिन्ता लागेको भन्दै ट्र्याक नेपालको सहयोगमा आफूले सगरमाथा आरोहण गरेको जानकारी दिनुभयो ।
राष्ट्रिय दलित आयोगका कावा अध्यक्ष मन्जित ताम्राकारले पर्वतारोहण क्षेत्रबाट देशको गौरव बढाएको बताउँदै सगरमाथाको सफल आरोहण गरेर युवा पुस्ताले भावी सन्ततीलाई उत्प्रेरणा दिएको बताउनुभयो ।