
नेकपा एमालेका प्रवक्ता एवं सहमति खोज्न गठित कार्यदलका सदस्य प्रदीप ज्ञवालीले कार्यदलले पार्टीको विवाद हल गरेको बताएका छन् । पार्टीको भविष्य के होला भन्ने एमाले कार्यकर्ता र शुभचिन्तकको चिन्ता भोलि दूर हुने बताए ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रवार झण्डै ७ घण्टा बसेको बैठकले पार्टीको विवाद हल गरेको र भाषिक रुपमा मिलाउन बाँकी विषय भोलिसम्म टुंगाउने सहमति भएको ज्ञवालीले बताएका हुन् ।
‘अहिलेका जतिपनि प्रश्नहरु छन तीनलाई सहमतिको विन्दुमा ल्याइपुर्याएका छौं । नेकपा एमालेका नेता कार्यकर्ताहरु शुभचिन्तकले पार्टीको भविष्य के होला भन्ने बारेमा उहाँहरुको चिन्तालाई दूर गर्नेगरी सहमतिका साथ टुंग्याउने छौ । आजको छलफल सकारात्मक छ,’ ज्ञवालीले भने ।
कार्यदलका अर्का सदस्य गोकर्ण विष्टले एकाध विषय बाहेक सबैमा सहमति भएको बताए । ‘आजको बैठक धेरै लामो भएकोले भोलि बस्नेगरी स्थगित गरेका छौ । छलफल गरेका आधा दर्जन विषयमा सहमति भएको छ, एकाध विषय बाँकी छ भोलि टुंगो लगाउँछौं,’ विष्टले भने ।
कार्यदलको बैठक भोलि अपरान्ह बस्ने ज्ञवालीले जानकारी दिए ।