
औपचारिक संवादका क्रममा प्रायः सबैले आफूभन्दा अग्रज र उपल्लो दर्जालाई ‘सर’ भनेर सम्बोधन गर्छन् । तर भारतका नयाँ रेलमन्त्री अश्विनी वैष्णवले आफूलाई ‘बोस’ भन्न एक इन्जिनीयरलाई निर्देशन दिएको चर्चा छ ।
रेल मन्त्री वैष्णव शुक्रवार रेल सिग्नल विभाग पुगेर एक इन्जिनीयरसँग कुराकानी गरिरहेको भिडियो भाइरल भएको छ । जसमा एक इन्जिनीयरले आफू मन्त्री वैष्णव पढेको स्कूलमै पढेको जानकारी दिए ।
त्यतिबेला मन्त्रीले ती इन्जिनीयरलाई भने, ‘आउनुस्, अंकमाल गरौं ।’
मन्त्रीले अगाडि भने, ‘हाम्रो कलेजमा कनिष्ट विद्यार्थीले वरिष्ठलाई सर होइन, बोस भनेर बोलाउँछन्, तपाईंले अब मलाई बोस भनेर बोलाउनुस् ।’
पूर्व प्रशासक रहेका अश्विनीले राजस्थानको जोधपुरस्थित एमबीएमस्थित मुगनीराम बंगुर मेमोरियल इन्जिनीयरिङ कलेजबाट पढेका हुन् । उनले कर्मचारीहरूलाई घरमा जस्तै काम गरेर आनन्द लिन निर्देश गरे ।