
पश्चिम दाङको बबई गाउँपालिकाले ‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम ल्याएको छ ।
सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष सावित्री विश्वकर्माले जानकारी दिइन् ।
‘स्वस्थ आमा, स्वस्थ बच्चा’ भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याएको कार्यक्रमले आमा र नवजात शिशुको जीवन सुरक्षित हुने उपाध्यक्ष विश्वकर्मा बताउँछिन् । भत्ता रकम २ हजार हुनेछ । सो कार्यक्रमलाई गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
गत असार १० गते आयोजना गरिएको नवौं नगर सभामा उपाध्यक्ष विश्वकर्माले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको ५१ करोड ६४ लाख रुपैयाँको बजेट सर्वसम्मतिले पारित भएको छ ।
कोरोना रोकथाम, कृषि, सिँचाइ, रोजगार तथा विकासका कामलाई उच्च प्राथमिकताका साथ नीति तथा बजेटमा समावेश गरिएको छ । ‘हाम्रो बबई राम्रो बबई, खुशी जनता समृद्ध बबई गाउँपालिका’ नाराका साथ ल्याइएको कार्यक्रम तथा बजेटमा गाउँपालिका क्षेत्रमा स्वच्छ र सहज रुपमा खानेपानीको व्यवस्था गर्नका लागि एक घर एक धारा समावेश गरिएको छ ।
संस्कृति र सम्पदा संरक्षण, दलित संग्रहालय निर्माण, अन्य चाडपर्व, महोत्सव सञ्चालनका लागि आवश्यक नीतिसहित रकम छुट्टयाइएको छ । बंगलाचुली गाउँपालिकाले शहीद तथा बेपत्ता परिवार, द्वन्द्वका घाइते, अपाङ्गता भएकालाई मासिक ५०० रुपैयाँ वृत्ति विकासको व्यवस्था मिलाइएको गाउँपालिकाका उपाध्यक्ष यमुना घर्तीले जानकारी दिइन् ।
गाउँपालिकाको गत असार ९ गते आयोजना गरेको नवौं नगर सभामा उपाध्यक्ष घर्तीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ ।