
बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिइँदै आएको छ ।
जिल्लाको मेलौली नगरपालिकाले भत्ता दिँदै आएको हो ।
नगरपालिकाले आगामी आर्थिक वर्षदेखि भत्तामा ५०० रुपैयाँ थप्ने भएको छ । यसअघि भत्ता प्रतिमहिना १ हजार ५०० रुपैयाँ रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् ।
नगरपालिकाले गत ३ वर्षयता ५० भन्दा माथि र ६० वर्षभन्दा मुनिका विदुरलाई भत्ता दिँदै आएको छ ।
उनले भनिन्, ‘एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका हौं ।’ मेलौलीमा ८८ जनाले भत्ता लिएका छन् ।
नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ । आमाबुवा दुवै गुमाएका बालबालिकाको सहयोगका लागि भन्दै गत ३ वर्षयता टुहुरा बालबालिकालाई पनि भत्ता प्रदान गरिँदै आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ बालबालिका रहेका र उनीहरूलाई मासिक भत्ता दिँदै आएको उपप्रमुख ओझाको भनाइ छ ।
टुहुरा बालबालिकाको शिक्षादीक्षामा सहज होस् भनेर भत्ता दिएको नगर प्रमुख कृष्णसिंह नायकले बताए । भत्ता पाउँदा जीवनयापन सहज भएको ९ नम्बर वडाका एकल पुरुष शंकरदत्त भट्टले बताए । मेलौलीले २०७५ सालबाट भत्ता दिन थालेको हो ।