
कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो ।
नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो नयाँ कार्यक्रम भएको बताए । नगरपालिकाले नयाँ कार्यक्रमका रूपमा देउमाइलाई अपाङ्गतामैत्री घोषणा गरेर अपाङ्गता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक ५०० रुपैयाँ दिने निर्णय गरेको छ ।
सो नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक १ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।
यौनिक अल्पसंख्यकलाई पनि मासिक १ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
अन्य स्थानीय तहभन्दा फरक कार्यक्रमका रूपमा शुरूबाट नै यस नगरपालिकाले नगरपालिकाभित्र बसोबास गर्ने नगरवासीले बच्चा जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ ।
मृत्यु हुँदा दाहाससस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ । जन्म र मृत्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रमलाई समेत निरन्तरता दिइएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताए ।
शिक्षा, सडक मर्मत तथा निर्माण, विजुलीवत्ती, खानेपानी, कृषि तथा पशु लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाका सूचना अधिकारी गोविन्दप्रसाद बास्तोला ‘गोपाल’ले बताए ।