
एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटबारे विभिन्न टिकाटिप्पणी भइरहेको बेला नेपालको सचिवालयले भेटबारे स्पष्ट पारेको छ । सचिवालयका तर्फबाट स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा प्रचण्ड नेपालको स्वास्थ्यबारे जानकारी दिन कोटेश्वर पुगेको र अन्य विषयमा छलफल नभएको स्पष्ट गरिएको छ ।
‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल विगत केही दिन यता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहनुभएको छ । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँको स्वास्थ्य समस्याका कारण आज संक्षिप्त भेट भएको र अन्य विषयमा कुरा नभएको स्पष्ट पार्दछु’, गौतमको विज्ञप्तिमा भनिएको छ ।