०४ असार २०८३, बिहीबार

विपदबाट क्षतिवक्षत घर निर्माणमा जुट्दै सरकार

असार २७, २०७८
विपदबाट क्षतिवक्षत घर निर्माणमा जुट्दै सरकार

 

गत वर्षको मनसुनजन्य विपद्का घटनाबाट क्षति पुगेका र भत्किएका घर बनाउन सरकारले २२ जिल्लामा ३० करोड रुपैयाँ पठाएको छ ।

संघीय सरकारले गत वर्षको बाढी तथा पहिरोका घटनाबाट क्षति पुगेका निजी घर निर्माणका लागि सो रकम पठाएको हो ।

कहाँ कति पठाइयो ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार हालसम्म २२ जिल्लामा गत वर्षको बाढी तथा पहिरोबाट भत्केका र क्षति पुगेका निजी आवास निर्माणका लागि रकम पठाइएको छ ।
उनका अनुसार २२ जिल्लामा गरी कुल २९ करोड ९९ लाख २६ हजार २ सय ५० रुपैयाँ जिल्ला पठाइएको हो । सो रकम म्याग्दी, धनकुटा, भोजपुर, स्याङ्जा, बाजुरा, पर्वत, मोरङ, बाग्लुङ, पश्चिम रुकुम, दार्चुला, कालिकोट, रोल्पा, कास्की, जाजरकोट, संखुवासभा, लमजुङ, मकवानपुर, बझाङ, तनहुँ, गोरखा, नुवाकोट र सिन्धुपाल्चोकका लागि पठाइएको हो । सो रकमबाट ४ हजार ९ सय ३७ लाभग्राही लाभान्वित हुने प्राधिकरणले जनाएको छ ।

केन्द्र सरकारबाट गएको सो रकमबाहेक स्थानीय तहअन्तर्गत आआफ्ना क्षेत्रमा पर्ने गाउँपालिका, नगरपालिका र महानगरपालिकाले पनि आवास निर्माणका लागि सहयोग गर्नेछन् । यस्तै, प्रदेश सरकारलेसमेत सहयोग गर्ने प्राधिकरणले जनाएको छ ।

यसरी केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहसम्म गरी तीनवटै सरकारको सहभागितामा विपद्बाट क्षति भएका निजी घरको पुनर्निर्माण हुँदै छ । घर निर्माणमा प्राविधिक सहयोग भने प्राधिकरणले नै गर्ने छ ।

यस वर्ष छिटो

गत वर्षको बाढी पहिरोको क्षति पुगेका घर निर्माणका लागि यस वर्ष मात्रै रकम पठाएको सरकारले सिन्धुपाल्चोकलगायतका ६ जिल्लामा भने यस वर्ष प्रभावित भएकाहरूलाई पनि निजी आवास निर्माणका लागि सहयोग रकम पठाएको छ ।

सिन्धुपाल्चोकसहितका पाँच जिल्लामा केही समयअघि बाढी पहिरोबाट क्षति पुगेका निजी आवास निर्माणका लागि सरकारले रकम निकासा गरेर पठाएको हो ।

प्राधिकरणका अनुसार लमजुङमा १ लाख ५० हजार, सिन्धुपाल्चोकमा १ करोड ४३ लाख, अर्घाखाँचीमा ३५ लाख, दैलेखमा २ लाख, दाङमा ४ लाख र हुम्लामा ११ लाख ५० हजार यस वर्ष क्षति भएका निजी आवास निर्माणका लागि पठाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मेलम्चीको स्थलगत निरीक्षणका क्रममासमेत सरकारले निजी आवासका लागि तत्काल प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।

प्राधिकरणबाट प्राप्त विवरण अनुसार म्याग्दीमा २४७ लाभग्राहीका लागि १ करोड ४५ लाख ३० हजार, धनकुटामा १ करोड ८८ लाख ५५ हजार रुपैयाँ पठाइएको छ । त्यहाँ १ सय ८१ लाभग्राहीलाई सो रकम पठाइएको हो ।

यसैगरी, भोजपुरमा ७६ लाख २५ हजार रुपैयाँ पठाइएको छ । त्यहाँ १ सय ३१ लाभग्राही छन् । यस्तै, स्याङ्जामा २ करोड १८ लाख ९७ हजार ५ सय पठाइएको छ । सो जिल्लामा २ सय ७४ जना लाभग्राही रहेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, बाजुरामा २ सय १७ लाभग्राहीका लागि १ करोड २१ लाख ७० हजार, पर्वतमा ८५ लाभग्राहीका लागि ५८ लाख ३५ हजार रुपैयाँ पठाइएको छ ।

यस्तै, मोरङमा ४४ लाख ५७ हजार ५ सय ४९ लाभग्राहीका लागि पठाइएको छ । यसैगरी, बाग्लुङमा ५ सय ४ लाभग्राहीका लागि ३ करोड ६ लाख ८० हजार, पश्चिम रुकुममा ८३ लाभग्राहीका लागि ४६ लाख ७० हजार, दार्चुलामा ५१ लाभग्राहीका लागि ४३ लाख ५५ हजार, कालिकोटमा ९४७ लाभग्राहीका लागि ५ करोड ४६ लाख ६५ हजार, रोल्पामा ७४ लाभग्राहीका लागि ४३ लाख ७५ हजार पठाइएको छ । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्