
नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको छ ।
प्राप्ति प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।
शनिवार आयोजित एक कार्यक्रममा नबिल बैंक तथा युनाइटेड फाइनान्सका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र बसन्त कुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।
नबिल बैंकका अध्यक्ष पौडेलले सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई अंगिकार गरी मर्जर तथा प्राप्ति प्रक्रियामा बैंक अगाडि बढेको बताए ।
‘यो प्राप्तिले नबिल बैंकको आगामी व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने कुरामा हामी विश्वस्त रहेका छौं,’ अध्यक्ष पौडेलले भने ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ८४ करोड पुग्नेछ भने कुल पुँजीकोष रु ३२ अर्ब ६८ करोड हुनेछ।
साथै, नबिल बैंकको शाखा सञ्जाल बृद्धि भइ १३५ हुनेछ भने एटीएम संख्या १८३ हुनेछ ।
निक्षेपको आकार २१६ अर्ब हुनेछ भने कर्जाको आकार २०१ अर्ब हुनेछ (चैत्र मसान्तको वित्तिय विवरण अनुसार) ।
यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आकार २ खर्ब माथि हुनेछ ।