
आजकल बाक्लो र घना आँखीभौं फेशनमा छ ।
पहिलापहिला पातला आँखीभौं राख्नका लागि महिलाहरू रौं थुत्थे । तर अहिले पातलो आँखीभौंलाई ‘कूल’ मानिँदैन । तर दुर्भाग्यको कुरा सबैको आँखीभौं बाक्लो हुँदैन ।
तर खुशीको कुरा, आँखीभौं मोटो बनाउन सकिने भएको छ । तल बताइएका केही उपाय अपनाउनुभयो भने आँखीभौं मोटाउँछन् । महंगो कस्मेटिक सामग्री किनिरहनै पर्दैन ।
अरण्डी (क्यास्टोर) तेल अरण्डीको तेलमा प्रोटीन, भिटामिन, फ्याट्टी एसिड र एन्टीअक्सिडेन्ट हुन्छन् । यसले रौंलाई पोषण दिएर बढाउँछ । शुद्ध अरण्डीको तेल सीधै आँखीभौंमा दल्नुस् । पाँच मिनेटसम्म बिस्तारै दलिरहनुस् । अनि आधी घन्टा त्यत्तिकै छोडिदिनुस् । त्यसपछि मनतातो पानीले आँखीभौं धुनुस् । धेरै हप्तासम्म यो प्रक्रिया दोहो-याउनुस् । तर तपाईंको अनुहार र आँखा चिलायो भने तत्कालै यो प्रक्रिया रोक्नुस् ।
नरिवलको तेल नरिवलको तेलमा पनि कतिपय प्रोटीनका साथसाथै भिटामिन ई र फलाम हुन्छन् । यसले आँखीभौंलाई बाक्लो बनाएर कालो पनि बनाउँछ ।
आँखीभौंमा कैयौं थोपा नरिवलको तेल चुहाउनुस् र औंलाले हल्का मालिश गर्नुस् । रातभरि यत्तिकै छोडिदिनुस् । एकदेखि दुई महिनासम्म दिनदिनै यसो गर्नुस् ।
कागती कागतीमा फोलिक एसिडका साथसाथै भिटामिन सी र बी हुन्छन् अनि अनेकौं उपयोगी पोषक तत्व पनि हुन्छन् ।
कागतीको टुक्रा बनाउनुस् । त्यसपछि त्यो टुक्रा आँखीभौंमा कैयौं मिनेटसम्म दल्नुस् । अनि १५ २० मिनेटपछि मनतातो पानीले धुनुस् । यसो गरेको दुई घन्टासम्म घाममा ननिस्कनुस् किनकि कागतीको रसले सूर्यको प्रकाशसँग मिसिँदा कपाललाई सुनौलो बनाइदिन्छ ।
जैतूनको तेल, प्याजको रस, अण्डाको पहेंलो भाग, मेथीको धूलो, घिउकुमारी र दूधले पनि आँखीभौंलाई घना बनाउँछन् ।