
काठमाडौं, २५ जेठ — बलिउड अभिनेता अनुपम खेरले नयाँ फिल्ममा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको भूमिका निर्वाह गरेका छन् ।

सिंहका पूर्व मिडिया सल्लाहकार सञ्जय बारुको संस्मरणमा यो फिल्म आधारित रहनेछ ।
खेरले बुधवार ट्विटरमा सिंहको भूमिका निर्वाह गर्न उत्सुक रहेको घोषणा गरेका थिए । फिल्मको नाम किताबकै शीर्षक दी एक्सिडेन्टल प्राइम मिनिस्टर राखिएको छ ।
‘आफूलाई अभिनेताका रूपमा पुनः आविष्कार गर्नु भनेको आफैंलाई चुनौती दिनु हो । दी एक्सिडेन्टल प्राइम मिनिस्टरमा डा मनमोहन सिंहको भूमिका निर्वाह गर्नका लागि तयार छु,’ खेरले ट्विटरमा लेखे ।
खेर सत्तारूढ भारतीय जनता पार्टीका समर्थक हुन् र उनले सिंहको कांग्रेस पार्टीको आलोचना गरिरहन्छन् ।
खेरकी पत्नी किरोन खेर चण्डीगढबाट भाजपाकी सांसद हुन् ।
यो फिल्म सन् २०१८ को शिशिरमा रिलिज हुनेछ । खेरले ट्विटरमा फिल्मको पोस्टर शेयर गरेका छन् ।
बारुको किताबमा सिंह पहिलोचोटि प्रधानमन्त्री हुँदाका बेलाको घटनाको भित्री पाटो उधिनेको छ ।
एजेन्सी