
काठमाडौं, २५ जेठ — बिकिनी किलर नामले कुख्यात अपराधी चार्ल्स शोभराज नेपाली कारागारमा बन्द छन् । नेपाल घुम्न आएका विदेशी महिलाको हत्या गरेको अभियोगमा शोभराजलाई आजन्म कारावास सजायसहित केन्द्रीय कारागारमा थुनिएको छ ।

भारतबाट प्रकाशित हुने अंग्रेजी पत्रिका दी इन्डियन एक्सप्रेसले शोभराजसँग कुरा गरेर एउटा रिपोर्ट तयार पारेको छ । रिपोर्टका अनुसार अहिले ७३ वर्ष पुगेका शोभराज कारागारमा केही दिनअघि ढलेका थिए । मुटुका रोगी शोभराजको मुटुको भल्भ फेर्नुपर्नेछ र गंगालाल अस्पतालमा ओपन हार्ट सर्जरी हुँदैछ ।
एक्सप्रेसले शोभराजसँग अस्पतालमै कुरा गरेको थियो । ‘म बाँच्छु जस्तो लाग्दैन । मलाई अदालतमा ज्यान मारिदिने धम्की आएको थियो । त्यसमाथि मलाई ओपन हार्ट सर्जरी गराउनका लागि फ्रान्स जान दिइएन । नेपालमा यो सर्जरी फ्रान्समा भन्दा बढी जोखिमयुक्त छ । तर यहाँका हृदयरोग चिकित्सकहरूले भल्भ छिटो फेर्नुपर्ने बताइरहेका छन् किनकि एउटा भल्भमा ठूलै क्षति पुगेको छ भने अर्कोमा सामान्य क्षति छ । म यो सबैबाट नर्भस भएको छु ।’
शोभराज फ्रान्सका नागरिक हुन् ।
गंगालालका एक वरिष्ठ चिकित्सकले विगत पाँच वर्षदेखि शोभराजको उपचार गरिरहेका छन् । उनले शोभराज क्रिटिकल अवस्थामा नरहेको भएपनि अत्यन्तै बिरामी भएको बताए । उनको भल्भ प्रत्यारोपण यही शनिवार गर्ने चिकित्सकले बताए ।
आफूलाई जेल अस्पतालमा खासै केही खान नदिइएको शोभराजको दाबी छ । जेलमा हुँदा पनि खाना पकाउन नदिइएको उनी बताउँछन् ।
शोभराजले खुलस्त नबताएपनि उनको जीवन र अपराधका बारेमा एउटा पुस्तक निस्कन लागेको थाहा भएको छ । उनले हालै बेलायती टीभीका एक निर्मातासँग सम्झौता गरेर काठमाडौंबाट पेरिस उड्ने अनि त्यहाँ हप्तौंसम्म फिल्म छायांकन गर्ने कुरा छ ।
दी इन्डियन एक्सप्रेसबाट