१५ असार २०८३, सोमबार

पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई सङ्घ सरकारको राहत

असार २९, २०७८
पहिरोबाट ज्यान गुमाउनेको परिवारलाई सङ्घ सरकारको राहत

पहिरोबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई सङ्घ सरकारको तर्फबाट राहत वितरण गरिएको छ ।

गत असार १७ गतेको पहिरोमा पुरिएर मृत्यु भएका दुई परिवारलाई सङ्घ सरकारको तर्फबाट सोमबार रु चार लाख राहत वितरण गरिएको हो । 

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पीडितको घरमै पुगी जनही रु दुई लाखका दरले राहत रकम वितरण गरेका हुन् । सो क्रममा प्रतिनिधिसभा सदस्य श्रेष्ठले मानिसको जीवन पैसासँग तुलना गर्न नमिले पनि पीडित परिवारको साथमा सरकार छ भन्ने अनूभुति गराउन राहत वितरण गरिएको बताए ।

पहिरोमा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो । यसअघि गण्डकी प्रदेश सरकारले पनि प्रतिमृतक रु ५० हजारका दरले राहत रकम प्रदान गरिसकेको छ । पहिरोमा मृत्यु भएकाका परिवारलाई जनही रु दुई लाखका दरले राहत वितरण गर्ने प्रावधानअनुरुप ऋषिङका पीडितलाई पनि केही समयपछि राहत उपलब्ध गराइने बताइएको छ । गत यही १७ र २४ गतेको पहिरोमा पुरिएर बन्दीपुरमा दुई र ऋषिङमा दुई जनाको मृत्यु भएको छ । 

गाउँपालिकाको राहत

यसैगरी ऋषिङ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गरेको छ । गत असार २४ गते पहिरोमा परेर मृत्यु भएका दुई जनाका परिवारलाई गाउँपालिकाले जनही रु ५० हजारका दरले राहत रकम वितरण गरेको हो ।

ऋषिङ–७ निवासी ५२ वर्षीया देवीसरा थापा र ऋषिङ–८ माझकोट निवासी ४० वर्षीय खुमबहादुर आलेको परिवारलाई गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले सोमबार राहत रकम हस्तान्तरण गरे । बाढीपहिरोले ऋषिङमा अकल्पनीय क्षति पु¥याएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले पीडितको साथमा स्थानीय सरकार रहेको बताए । 

बाढी पहिरोले ऋषिङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । साथै पोल ढल्दा विभिन्न ठाउँमा विद्युत् अवरुद्धसमेत भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्