सिद्धिचरण राजमार्गअन्तर्गत सोलुखुम्बुको साल्मे–फाप्लु सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किएको छ ।
साल्मे–फाप्लु १५ किलोमिटर सडक मर्मत कार्य सम्पन्न नहुँदै भत्किन थालेको प्रत्यक्षदर्शीले बताएका छन् ।
वैशाख शुरू हुनैलाग्दा काम थालिए पनि असारको मध्य नहँुदै भत्कन थालेको सवारीचालक दावा ग्याल्जेन शेर्पाले बताए ।
सडक डिभिजन कार्यालय हर्कपुरले सिद्धिचरण राजमार्गको हर्कपुरदेखि फाप्लुसम्मको सडक मर्मत गर्ने गरी विभिन्न निर्माण कम्पनीसँग सम्झौता गरी योजना सञ्चालन गरेको भए पनि गुणस्तरीय नभएको यात्रुको दाबी छ ।
कार्यालयका अनुसार ओखलढुंगाको हर्कपुरदेखि सोलुखुम्बुको फाप्लुसम्मको सडक मर्मतको कार्य अहिले ६० प्रतिशत सकिएको छ । तर असारमा बजेट सिध्याउने बहानामा गुणस्तरीय काम नभएको चालक तथा यात्रु बताउँछन् ।
बर्खाको समयमा बजेट खर्च गर्नकै लागि निर्माण गरेको जस्तो देखिने विकास निर्माणमा अनुगमन फितलो हुनु र ठेकेदार कम्पनीले समेत गुणस्तरीयतामा ध्यान दिनुपर्ने दायित्व नबुझ्दा समस्या हुने गरेको सोलु दूधकुण्ड नगरपालिका–४ का फुरी लामाको भनाइ छ ।