×

NMB BANK
NIC ASIA

पुस्तक समीक्षा

भानुभक्तको नेपाली रामायणः डा. जयराजको अङ्ग्रेजी अनुवादमा

असार २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अनुवाद आफैँमा जटिल र चुनौतीपूर्ण कार्य हो । एक भाषामा लेखिएको विषय-वस्तुलाई त्यसको मर्म र भाव नमारिकन जस्ताको त्यस्तै अर्को भाषामा रूपान्तरण गर्नु असम्भव प्रायः नै हुन्छ । किनकि त्यहाँ भाषासँगै सभ्यता, संस्कृति, जीवन, दर्शन, माटो र मुटुको संवेदनशीलता पनि गाँसिएको हुन्छ । अनुवादमा पनि काव्यको अनुवाद अझ जटिल र चुनौतीपूर्ण हुन्छ। एउटा फुटकर कविताको अनुवाद गर्दा त अनुवादकलाई हम्मेहम्मे पर्छ भने सिंगो काव्य अझ त्यसमा पनि महाकाव्यको अनुवाद सामान्य शिक्षित व्यक्तिका लागि कल्पनातीत विषय नै हो ।

Sagarmatha Cement
Muktinath Bank

तर यसो हुँदाहुँदै पनि एक भाषामा रचिएका साहित्यिक वा अन्य कृतिहरू विश्वका अनेक भाषामा अनुवाद भइरहेका छन् । यसो हुनु आजको भाषिक-सांस्कृतिक अन्तनिर्भरताले अनिवार्य जस्तै भएको छ।  श्रीमद्भागवत् गीता सयौँ भाषामा अनूदित भएको छ । बाइबलको अनुवाद विश्वभरि छ्याप्छ्याप्ती छ । रामायण र महाभारतका पनि दर्जनौं भाषामा अनुवाद भएका छन् । अनुवादको जोखिमयुक्त काम थोरैले गर्छन् र त्यसमा पनि नगन्य व्यक्ति मात्र सफल हुन्छन् । यस्तो जटिल र जोखिमयुक्त काम सजिलै फत्ते गरेका छन् वरिष्ठ भाषाविद् एवं विद्वान् कूटनीतिज्ञ डा. जयराज आचार्यले भानुभक्तको नेपाली रामायणको अङ्ग्रेजी अनुवाद गरेर ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली, संस्कृत र अङ्ग्रेजी भाषामा निकै राम्रो पकड भएका डा. आचार्यले अन्य थुप्रै भाषामा समेत दख्खल राख्छन् । भाषा, साहित्य, दर्शन, कला, कूटनीति र राजनीतिमा गहिरो अध्ययन र अनुसन्धानरत आचार्यले अमेरिकाको जर्जटाउन विश्वविद्यालयबाट फुलब्राइट स्कोलरको रूपमा भाषाविज्ञानमा विद्यावारिधि गरेका हुन् । उनले हार्वट लगायत विश्वप्रसिद्ध विश्वविद्यालयमा समेत अध्ययन-अनुसन्धान एवं प्रवचन गर्ने गरेका छन्  । संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग प्रमुख समेत रहेर उच्च कूटनीतिक क्षमता प्रदर्शन गरेका आचार्यका दर्जनौं कृति र अनुसन्धानमूलक लेखहरू प्रकाशित छन्  ।


Advertisment
Nabil box
Kumari

यति हुँदाहुँदै पनि बहुमुखी प्रतिभाका धनी आचार्यको त्यति बाहिर नआएको पाटो भनेको अनुवादको पाटो हो।  यद्यपि उनले सामान्य साहित्यिक कृतिको मात्र अनुवाद नगरेर विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास ‘मोदिआइन’ कृतिको अङ्ग्रेजी (Modiain: The Grocer’s Wife) अनुवाद गरेका छन् । त्यस्तै नेपाल महात्म्यको स्कन्दपुराणको (Legends on the Sacred Places and Deities in Nepal) अङ्ग्रेजी अनुवाद समेत गरेका छन् । नेपाली, अङ्ग्रेजी भाषाका अतिरिक्त डा. आचार्यले संस्कृत भाषामा ‘श्रीमनःकामनामाहात्म्यम्’ नामक कृति रचना गरेका छन्, जुन नेपाली, अङ्ग्रेजी, नेवारी, हिन्दी, मैथिली लगायत भाषामा समेत अनुवाद भएको छ।

Vianet communication
Laxmi Bank

यस्ता उद्भट विद्वान् आचार्यले हालसालै एउट अद्भुत काम गरेका छन् त्यो हो भानुभक्त आचार्यको रामायणको अङ्ग्रेजी अनुवाद ‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ ‘Bhanubhakta Acahrya’s Rayamana in Nepali and English’। त्यसो त डा. आचार्यले Bhanubhakta Acharya: His  Life and Selected Poem’ नामक कृति प्रकाशित गरिसकेका छन् ।

भानुभक्त आचार्यको उक्त विशाल महाकाव्यको अङ्ग्रेजी अनुवाद उनले ३-४ महिनामै सिध्याए । अनुवादका सन्दर्भमा डा. आचार्य भन्छन्- "त्यस्तै ३-४ महिनामा सकियो होला तर त्यो समय ढोका थुनेर, फोनको लाइन काटेर नै अनुवादमा तल्लीन रहेँ । सुन्दरकाण्डको अनुवाद भने पहिले नै गरिसकेको थिएँ ।"

उक्त कृतिको भूमिकामा डा. आचार्यले अनुवादको जटिलता र चुनौतीबारे लेखेका छन् – ‘कविता अनुवादमा हराउँछ । तैपनि मैले आदिकवि भानुभक्त आचार्य (१८७१-१९२५) को रामायण अनुवाद गर्ने प्रयास गरें । यो अनुवाद गर्दा मलाई भानुभक्तको भाषाको सौन्दर्य अनुवाद गर्न असम्भव रहेछ भन्ने महशुस भयो।'

भाषाविज्ञानका विद्यार्थी आचार्यलाई यो जटिलता थाहै थियो तर पनि किन यसरी अनुवादमा तल्लीन रहे भन्ने कुरा उनले फेरि यसरी लेख्छन्- ‘भावी पुस्ताका नेपाली बालबालिकाहरूका लागि भानुभक्तको रामायण अनुवाद नगरी मैले मेरो कर्तव्य गरेको ठहरिन्न भन्ने मलाई लाग्यो । स्कूल कलेजहरूमा दिइने शिक्षामार्फत अङ्ग्रेजी भाषाको व्यापक प्रभावले गर्दा नयाँ पुस्ताका नेपाली बालबच्चाहरूले आफ्नो मातृभाषा बिर्सँदैछन् । कोही त यो बुझ्दा पनि  बुझ्दैनन् ।

हो, भाषा दशकैपिच्छे र अझ शताब्दीमा त झन् परिवर्तन हुन्छ भन्ने कुरा सत्य हो । तथापि आफ्ना सन्तान दरसन्तानले भानुभक्तको रामायण वा नेपालीमा लेखिएको केही कुरा पनि पढ्दैनन् भने मजस्ता मानिसका लागि त्यो ज्यादै नमजा लाग्ने कुरा हो । त्यसकारण भानुभक्तको नेपाली रामायण अङ्ग्रेजीमा अनुवाद गरिदिँदा हाम्रो नेपालभित्रका र समुद्रपार समेतका हाम्रा बालबालिकालाई काम लाग्ला भन्ने मलाई लागेको छ।' यसरी भविष्यका सन्ततिलाई आफ्नो भाषा, संस्कृति र समाजप्रति अपनत्व होला भनेर एउटै कृतिमा नेपाली र अङ्ग्रेजी भाषाको पाठ राखेर अत्यन्त प्रेरणादायी कार्य गरेका छन्, डा. आचार्यले ।

यस्तो दीर्घकालीन उद्देश्य राखेर अनुवादमा लागेका आचार्यले उक्त विशाल कृतिको सहज अनुवाद गरेर स्तुत्य कार्य गरेका छन् । यसका पछाडि  दुईवटा मुख्य उद्देश्य छन्, ती हुन्- आफ्ना वंशजप्रतिको सम्मान र भावी सन्तति प्रतिको अनुराग र त्योभन्दा पनि महत्त्वपूर्ण उद्देश्य भनेको डा. आचार्यजस्ता सचेत र विद्वान् व्यक्तिले आफ्नो भाषा, संस्कृति र सभ्यताको उन्नयन र सम्प्रसार गर्ने कार्यमा आफूलाई तल्लीन गराउनू । यी सबै उद्देश्यमा डा. आचार्य सतत सफल भएका छन् ।

यस अनूदित कृतिको महत्त्वपूर्ण विशेषता भनेको भानुभक्तकृत नेपाली रामायणको पहिलो र प्रामाणिक अनुवाद हो । अनुवाद गर्दा प्रत्येक सर्गको सार नेपाली र अङ्ग्रेजी दुवै भाषामा सँगसँगै दिएका छन् ।

त्यसरी नै  प्रत्येक श्लोकको अनुवाद पनि त्यसरी नै सँगै दिइएको छ जसबाट पाठकले दुवै भाषामा स्वाद र सौन्दर्य एकै ठाँउमा भेटाउँछन् भने अनुवादको स्तर र मिठासको मूल्याङ्कन समेत त्यति नै खेर गर्न पाउँछन् । यसैगरी अङ्ग्रेजी भाषी पाठकहरूको सहजताका निम्ति महत्त्वपूर्ण र जटिल पदावलीको लक्ष्यार्थ, भावार्थ र शब्दार्थको समेत पादटिप्पणी दिइएका छन् ।

पुस्तकको अन्त्यतिर भानुभक्तको जीवनी र अन्य रचनाको समेत दुवै भाषामा अनुवाद दिइएको छ । त्यसैगरी सिंगो रामायणमा प्रयुक्त पात्र र परिवेश र वस्तुविशेषको शब्दभण्डार प्रस्तुत गरिएको छ जसबाट अन्य संस्कृतिका पाठकले समेत रामायणका पात्र र  परिवेशको परिचय पाउँछन् । अनुवाद पढ्दा पाठकले विरलै मात्रामा शब्दकोश पल्ट्याउनु पर्ला । अनुवादकको शब्द छनोट र वाक्यगठन अत्यन्त सरल र स्वाभाविक  छ ।

उनले बहुप्रचलित शब्दहरू नै छनौट गरेका छन् । संस्कृतका वार्णिक छन्दमा रचिएको भानुभक्तको रामायणको अङ्ग्रेजी अनुवाद गर्दा अनुवादक आचार्य स्वयं संस्कृत भाषा र छन्दका मर्मज्ञ भएकाले त्यसको आस्वादन अनुवादमा पनि पार्न खोजेका छन् । सकेसम्म अन्त्यानुप्रास मिलाएका छन् । श्लोकको आयामलाई अनूदित भाषामा पनि नजिक-नजिक पुर्याउन सचेत देखिन्छन् ।

जसरी भानुभक्तको नेपाली रामायणमा प्रयुक्त सरल र अन्त्यानुप्रासयुक्त भाषाले गर्दा सामान्य शिक्षित र अशिक्षित व्यक्ति समेतलाई कण्ठस्थ र मुखाग्र छ । त्यसैगरी यो अनुवाद पनि अङ्ग्रेजी भाषामा सामान्य पकड भएका जोसुकैलाई पनि बोधगम्य नै  छ । यसरी हेर्दा के भन्न सकिन्छ भने भाषाविज्ञानको सचेत विद्यार्थी  भएकाले डा. आचार्यले यो अनुवादलाई शब्दाडम्बरको भद्दा पुलिन्दा बन्नबाट जोगाएका छन् ।

साथसाथै महाकाव्यजस्तो विशिष्ट विधागत कृति जो धर्म, संस्कृति र सभ्यताको समेत विपुल भण्डार हो, त्यसमा प्रयुक्त हुने शब्द, शैली र सौन्दर्यको  संयोजनमा समेत अनुवादक चनाखो देखिएका छन् ।

यति हुँदाहुँदै पनि केहीकेही ठाँउमा प्रयुक्त शब्दका ठाउँमा अर्को शब्द राख्दा अझ सौन्दर्य प्रस्फुटित हुन्थ्यो कि बन्ने प्रतीत भने ठाँउठाँउमा हुन्छ । पुस्तकको केही ठाँउमा सामन्य त्रुटि देखिन्छ । जस्तै भूमिका खण्डकै शुरूमा स्वयं भानुभक्तको नाम ‘भनुभक्त’ भएको छ र सम्पादकको नाम कुनै हरफमा डेबिड र कुनै ठाँउमा देविड भएको छ । यस्ता भाषिक कसरमसर अन्य ठाँउमा समेत नगन्य छन् ।

आफैमा अङ्ग्रेजी भाषाको राम्रो पकड भए पनि अनुवादक आचार्यले यस अनूदित कृतिको सम्पादन भने अङ्ग्रेजी भाषी विद्वान् भाषाविद् डा. डेविड एल. रेडबाट गराएका छन् । जसबाट अनुवादले भाषिक क्लिष्टतालाई पन्छाउन मद्दत गरेको अनुभूति हुन्छ।  सम्पादक डेविडले लेखेका छन् – डा. आचार्य आफैँमा अङ्ग्रेजी भाषामा राम्रो पकड भएको लेखक भएपनि आफूलाई गरिएको सम्पादनको अनुरोध सहज स्वीकार गरी जन्मजात अङ्ग्रेजी भाषी वक्ता, पाठक र लेखकको आँखाबाट केही सम्पादन गरिएको बताएका छन् ।

यसरी अनुवाद जटिल विधा भए पनि भानुभक्तको भाषा सरल र सहज भएकाले आफू सजिलै आकृष्ट भएको र अनुवाद त्यति धेरै जटिल नभएको बताएका छन् डा. आचार्यले । तर उत्तरकाण्ड र रामगीताको अनुवाद भने वेदान्त दर्शनको प्रत्यक्ष प्रभावले निकै जटिल लाग्यो उनलाई । यो खण्डको अनुवाद गर्दा थुप्रै सन्दर्भ ग्रन्थको समेत सहयोग लिनुपरेको पर्‍यो।

यसैगरी भानुभक्तको रामायणको अनुवाद गर्दा थुप्रै प्रकाशन र संस्करण भिडाएर तुलना गरेको र शिवराज आचार्य कौण्डिन्न्यायनले सम्पादन गरेको रामायण सर्वाधिक शुद्ध र त्रुटिरहित भएको अनुवादकले ठहर छ । विशद् अध्ययन र अनुसन्धान गरेर सम्पादन गरिएको कौण्डिन्न्यायनको उक्त कृति भानुभक्तको रामायणको सबैभन्दा शुद्ध र भरपर्दो कृति हो ।

त्यसैगरी यस डा. आचार्यको यस अनूदित कृतिको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसको अग्रपृष्ठमा छापिएको भानुभक्तको तस्वीर हो  । यो तस्वीर अनुवादक आचार्यले आफैँले कोरेका हुन् । उनले यस तस्वीरलाई यथार्थसँग नजिक रहेको समेत दाबी गरेका छन् ।

भानुभक्तका सन्तानसँगको लामो सान्निध्य र उनीहरूको मुखाकृतिको गहिरो अध्ययन गरेर कोरिएको हुनाले बजारमा छापिएका भानुभक्तका अन्य तस्वीरभन्दा यो बढी दुरुस्त र प्रामाणिक रहेको उनको दाबी छ । यसबाट नेपाली साहित्यका आदिकविको नयाँ तस्वीर समेत सार्वजनिक भएको छ भने अनुवादक आचार्यको चित्रकलाको दख्खल समेत बाहिर आएको छ।

हुन त  डा. आचार्यको हस्तलेखन पनि अत्यन्त सुन्दर छ । उनले यसको प्रमाण आफ्नो डायरी आफ्नै हस्ताक्षरमा प्रकाशन गरेर दिसकेका छन् ।

यो अनुवाद नेपालीभाषी रामायणको केवल अङ्ग्रेजी भाषानुवाद मात्र होइन। विश्वभर छरिएर रहेका सनातन हिन्दूधर्मालम्बीहरू जसको नेपाली भाषामा प्रवेश र पकड छैन उनीहरूका लागि अमूल्य साहित्यिक-सांस्कृतिक निधि पनि हुँदै हो । आफ्नो धर्म, संस्कृति र सभ्यताको अध्ययन गर्न चाहनेका निम्ति भरपर्दो माध्यम पनि हो ।

यसका साथै विश्व वाङ्मयमा मूलतः महाकाव्यका क्षेत्रमा अत्यन्तै महत्त्वपूर्ण मानिने अनेक रामायण महाकाव्यहरू मध्ये अध्यात्म रामायणको भानुभक्तको आचार्यको नेपाली रामायणको अङ्ग्रेजी अनुवादले विश्वभरका पाठकका लागि नयाँ अवसर पनि प्रदान गरेको छ।

यसरी नेपाली जातीय कविको महत्त्वपूर्ण कृति विश्वसाहित्यमा पुर्‍याउन गरिएको अनुवादको छुट्टै महत्त्व र गरिमा छ।  अनुवादक आचार्य एक वरिष्ठ कूटनीतिज्ञ हुन् ।  उनको यो अनुवादबाट नेपाली भाषा, साहित्य, संस्कृति र सभ्यताको सम्प्रसारणमा ठूलो महत्त्व पुग्ने देखिन्छ । साथै आजको विश्वसम्बन्धमा देखापरेका विभिन्न शक्तिहरूमध्ये भाषा, साहित्य, कला र संस्कृति पनि  महत्त्वपूर्ण ‘सफ्ट पावर’ हो ।

यस अर्थमा नेपालको सफ्ट पावरको विस्तारका निम्ति  यो एउटा सानो भए पनि महत्त्वपूर्ण प्रयास अवश्य पनि हो । प्राच्य वाङ्मयका संस्कृतमा लेखिएका थुप्रै ग्रन्थहरू अङ्ग्रेजी लगायतका विश्वस्तरमा प्रभाव पार्न सक्ने भाषामा  बेलैमा अनुवाद हुँदा आज अन्तर्राष्ट्रिय जगत पौरस्त्य वाङ्मयको अध्ययन-अनुसन्धानमा आकृष्ट भएको छ ।

यसैगरी नेपाली भाषामा लेखिएका विशिष्ट साहित्यिक र अन्य ग्रन्थहरूको प्रामाणिक र स्तरीय अनुवाद हुन नसक्दा र भएका पनि विश्वबजारमा प्रवेश पाउन नसक्दा हाम्रो नेपाली वाङ्मय पछाडि परेको छ। यसै सन्दर्भमा नेपाली साहित्यका आदिकविको सबैभन्दा महत्त्वपूर्ण र जनमानसले अत्यधिक रुचाएको कृतिको यत्तिको स्तरीय अनुवाद त्यसमा पनि विशिष्ट कूटनीतिज्ञको हातबाट हुनु आफैँमा सुखद् कुरा हो । अझ त्यसमा पनि अनुवादक भानुभक्तकै सन्तान दरसन्तान हुनुका नाताले समेत यसको छुट्टै निकटता र आत्मियताको प्रतिविम्बन समेत भएको संयोग देखिन्छ ।

जयराज आचार्यको अनुवाद एकातिर प्राज्ञिक र सरल हुन्छ भने अर्कातिर यसले विश्वबजारमा सहज प्रवेश पाउँछ । उनको यस कृतिलाई विश्वबजारको अत्यन्तै शक्तिशाली सञ्जाल अमेजनले विश्वभर उपलब्ध गराएको छ । जसले जहाँबाट जसरी चाह्यो त्यसरी नै यो कृति किनेर पढ्नसक्छ।  नेपाली कृतिको यस किसिमको उपलब्धता पनि हाम्रा निम्ति महत्त्वपूर्ण प्राप्ति नै हो । नेपालमा भने यसको प्रकाशन र वितरण मकालु प्रकाशनले गरेको छ।

प्रकाशक तथा वितरक मकालु प्रकाशन

संस्करणः प्रथम २०७६

पृष्ठः ४९०

मूल्यः  ७५०

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x