
उच्च अदालत विराटनगर इलाममा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामले मंगलवार पत्रकार सम्मेलन गर्दै अभियुक्त सार्वजनिक गरेको हो ।
सोमवार कार्यालय परिसरकै बलेंसीमा मृत फेला परेकी विमलाको हत्या नामसालिङमा दरबन्दी रहेर हाल मुख्य न्यायाधीशकै सुरक्षा गार्डका रूपमा कार्यरत प्रहरी युवराज बानियाँले गरेको खुलेको छ ।
मुख्य न्यायाधीश हाल बिदामा रहेकाले कोठाको साँचो सुरक्षा गार्ड बानियाँसँग नै रहेकाले सो स्थानमा घटना घटेको हुनसक्ने अनुमान प्रहरीको छ । अभियुक्तलाई सोमवार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनकुटाको होलीखर्क–५ घर भई इलाममा कार्यरत अभियुक्त बानियाँ र मृतक कर्मचारीबीच लामो समयदेखि सम्बन्ध रहेको खुलेको छ ।
उनीहरूबीच पैसाको बार्गेनिङ भएको बानियाँको बयान उदृत गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
मृतक महिलाको दाँहिने नाडीमा चोट भएको बताइएको छ । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको बताएको प्रहरी प्रमुख श्रेष्ठले बताए ।
कार्यालय समयपछि सबै आफ्नो घरतर्फ गए पनि मृत फेला परेकी महिला उच्च अदालतभित्रै रहेको तरकारी बारीतर्फ गएको बताइएको छ । २ जनाबीच भनाभन भएको र घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
मृतक महिलाले लगाएको करीब २ तोलाको सिक्री समेत अभियुक्त बानियाँ बस्ने ठाउँबाट बरामद गरिएको छ । मुख्य न्यायाधीश बस्ने क्वाटरको कोठामा घटना घटाइ घिसारेर लगेर बलेंसीमा फालेको अभियुक्त बानियाँले दिएको बयानमा खुलेको छ ।
घटनापश्चात् नै जिल्ला प्रहरी कार्यालय इलामले अभियुक्त तथा प्रहरी बानियाँलाई नियन्त्रणमा लिएको तर थप अनुसन्धानका लागि संघीय प्रहरी एकाइ धरानबाट कुकुर ल्याइएको थियो । अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ ।