
निर्वाचन आयोगमा पार्टी आधिकारिकताको टुंगो नलागेको कारण जसपाको उपेन्द्र यादव पक्ष पहिलो चरणमा सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
जसपाको पार्टी कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको अनौपचारिक बैठकबाट शेरबहादुर देउवाको सरकारमा सहभागी हुने निर्णय गरिए पनि तत्कालका केही समस्या समाधान नहुन्जेलसम्म सरकारमा नजाने निर्णय गरिएको हो ।
प्रतिनिधि सभा सदस्य समेत रहेका कार्यकारिणी सदस्य महेन्द्र राय यादवले पार्टीको दल आधिकारिकताको विवाद साउन ३ गतेपछि टुंगो लाग्ने हुनाले त्यसपछि मात्रै सरकारमा सहभागी हुने बताए ।
'निर्वाचन आयोगले कार्यकारिणी समितिमा ३१ जना बहुमत रहेको आधारमा जसपाको आधिकारिकता हामीलाई दिनेछ,' यादवले लोकान्तरसँग भने,'त्यसपछि पार्टीको संसदीय दलको नेता समेत चयन गरेर मात्र सरकारमा जानेछौँ ।'
तत्काल सरकारमा सहभागी नभए पनि सरकारको हरेक क्रियाकलापमा भने सहभागी भएर साथ र सहयोग गर्ने समेत निर्णय भएको उनले बताए ।
३२ जना सांसद रहेको जसपामा उपेन्द्र पक्षसँग अहिले १२ जना सांसद मात्र रहे पनि उक्त संख्या बढ्ने उनले दाबी गरे । 'यति नै संख्यामा बढ्छ भनेर हामीले अहिले नै भन्न सक्दैनौं, तर दलको आधिकारिकता नै हामीसँग भएपछि थुप्रै साथीहरू हामीसँगै आउनु हुन्छ,' उनले थपे,'यद्यपि आत्मालोचना गरेर भुल स्वीकार गर्दै सबै सांसदलाई आउन हामीले आग्रह गरेका छौं ।'
उपेन्द्र यादवको नेतृत्वमा जाने वा नजाने भन्ने विषय समेत अहिले टुंगो नलागेको उनले बताए ।
मन्त्रालय कतिवटा जसपाले पाउने कुरा समेत अहिलेसम्म तय नभएको उनको भनाइ छ । 'आज मन्त्रिपरिषद् गठन भएपछि भोलिदेखि ती सबै कुरामा प्रधानमन्त्री देउवासँग भेटेर कुरा टुंगिन्छ होला,' उनले बताए ।