कोरोना भाइरस संक्रमण रोकथामका लागि यतिबेला खोप अभियान सञ्चालन भइरहेको छ । अर्काेतिर धेरै व्यक्ति संक्रमित भइसकेकाले जैविक ‘एन्टिबडी’ समेत विकसित भएको छ ।
यति हुँदाहुँदै पनि कोरोना संक्रमण फैलिइरहेको छ । भारतमा कोरोनाको डेल्टा भेरियन्ट धेरै संक्रामक देखिएको छ, यसले खोप लगाएका वा जैविक एन्टिबडी भएकालाई समेत छाडेको छैन ।
शरीरमा दोहोरो एन्टिबडी हुँदाहुँदै पनि संक्रमण हुनुलाई ब्रेक थ्रू संक्रमण मानिने भारतको दिल्ली सरकारको इन्स्टिच्युट अफ लिवर साइन्सेजकी डा. एकता गुप्ताले बताइन् ।
खोप लगाएका र शरीरमा एन्टिबडी भएका हरेक व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर ब्रेक थ्रू संक्रमणबाट जोगिन सकिने उनले बताइन् । उनका अनुसार खोप लगाएको भनेर लापरवाही गर्नेलाई ब्रेक थ्रू संक्रमण हुने सम्भावना हुन्छ ।
खोप लगाएपछि डेल्टा भेरियन्टको संक्रमण देखिने गरेपनि गम्भीर लक्षण नदेखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डेल्टा भेरियन्ट उच्च संक्रामक रूपमा फैलिरहेको छ ।