
पूर्वी चितवनको खैरहनी नगरपालिका भित्रका किसानले निःशुल्क कृषि बीमा गर्न पाएका छन् ।
बीमा गरेबापत लाग्ने प्रिमियम रकम नगरपालिकाले किसानलाई उपलब्ध गराएको हो ।
चालू आर्थिक वर्ष २०७७/७८ देखि यो कार्यक्रम लागू गरिएको हो । किसानले उत्पादन गरेको तरकारीलगायत अन्य बालीमा प्राकृतिक प्रकोप आदिका कारण क्षति हुने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले निःशुल्क कृषि बीमा गर्ने कार्यक्रम ल्याएको नगर प्रमुख लालमणि चौधरीले बताए ।
हावाहुरी, असिनापानीका कारण प्रत्येक वर्षजसो क्षति व्यहोर्दै आएका किसानलाई राहतस्वरूप बीमा कार्यक्रम लागू गरिएको हो । प्रकृतिलाई कसैले रोक्न नसक्ने भन्दै प्रमुख चौधरीले भने, ‘आफ्नो बालीको बीमा गरे, त्यस्ता घटनाबाट हुने क्षतिमा राहत मिल्छ ।’
बीमाले जोखिमबाट किसानमुक्त हुने नगर प्रमुख चौधरीको विश्वास छ । २ वर्षअघि असिनापानी र हावाहुरीका कारण सयौं किसानको बालीमा क्षति पुगेपछि नगरपालिकाले मूल्यांकन गरेर राहत उपलब्ध गराएको थियो ।
बीमा कार्यक्रम ल्याएपछि पहिलो चरणमा १२ किसानले प्रिमियम रकम पाएका छन् । प्रिमियम रकम प्रदान गरेको थाहा पाएपछि थप केही किसानले समेत बीमा गरेको कागजपत्र पेश गरेका छन् । १२ किसानलाई बीमा गरेबापत ४५ हजार रुपैयाँ उपलब्ध गराइएको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख दीपेन्द्र अर्यालका अनुसार तरकारी, फलफूल, खाद्यान्न आदि बालीमा बीमा गर्दा संघीय सरकारबाट किसानले प्राप्त गर्ने ७५ प्रतिशत प्रिमियममा अनुदान हुने व्यवस्था रहेकामा खैरहनी नगरपालिकाले २५ प्रतिशत किसानले तिर्नुपर्ने प्रिमियम शुल्कमा पनि अनुदान दिएर किसानले निःशुल्क बीमा गर्न सक्ने व्यवस्था मिलाएको हो ।
चालू आवमा प्रिमियम अनुदानमा ४ लाख विनियोजन गरिएको थियो । सो बजेट आगामी आवका लागि वृद्धि गरी १० लाख रुपैयाँ कार्यक्रमलाई छुट्याइएको कृषि शाखा प्रमुख अर्यालले बताए ।
विभिन्न कारणबाट बालीमा हुने क्षति असरलाई न्यूनीकरण गर्ने तथा किसानलाई बाली बीमाप्रति आकर्षित गर्ने नगरपालिकाको योजना रहेको उनले जानकारी दिए ।