२९ जेठ २०८३, शुक्रबार

तार भूमिगत गरेर नयाँ शहर बनाउने पहिलो आयोजना काठमाडौंको पूर्वोत्तरमा

साउन २, २०७८
तार भूमिगत गरेर नयाँ शहर बनाउने पहिलो आयोजना काठमाडौंको पूर्वोत्तरमा
फाइल फोटो

काठमाडौंको पूर्वोत्तर भेगका ३ नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्यान्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ ।

विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाका इञ्जिनीयर परासर घिमिरेले जानकारी दिए ।

प्राकृतिक प्रकोपबाट बच्न पर्याप्त मात्रामा खुला क्षेत्र र नदी किनारमा बाढी नआउने गरी तयार शहरका रूपमा स्थापित गर्ने गरी काम अघि बढेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–१, २, ३ र ४, गोकर्णेश्वर नगरपालिका–१, २ र ४ एवं शंखरापुर नगरपालिका–९ भित्रको करीब २६ हजार रोपनी जग्गामध्ये २० हजार रोपनी जग्गा एकीकरण गरेर नयाँ शहर बनाउन लागिएको हो । यसका लागि पूर्वी काठमाडौं नयाँ शहरी आयोजना गत वर्ष स्थापना गरी सञ्चालन गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले बताए ।
 
‘आयोजना सञ्चालन गर्न ३ वटै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आयोजना सञ्चालन हुने वडाका वडाध्यक्ष, ३ वटै नगरपालिकाका कानूनी सल्लाहकार, जग्गा धनी, मोही र सरोकार भएका सरकारी कार्यालयका प्रतिनिधि सदस्य रहने गरी ४० सदस्यीय समिति गठन गरिएको छ,’ उनले भने । समितिको अध्यक्षमा कागेश्वरी मनोहराका नगर प्रमुख थापा तोकिएका छन् ।

सहअध्यक्षमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे र शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठ रहेका छन् । आयोजना सञ्चालनका लागि उपभोक्ता समिति, आवश्यकता अनुसार उपसमिति, आयोजना क्षेत्रभित्रका सबै कित्ता जग्गालाई एकीकरण गर्ने, आयोजना क्षेत्रमा विकसित घडेरी निर्माण गर्न प्रचलित कानूनबमोजिम ठेक्कामा दिने काम अघि बढाउन लागिएको हो । 
 
आयोजना सम्पन्न गरी विकसित घडेरी वितरण गर्ने, आयोजना हस्तान्तरण गर्ने र सम्पन्न भएपछि सो को प्रतिवेदन नगर कार्य पालिकासमक्ष पेश गरिने भएको छ । आयोजना व्यवस्थापन समितिको बैठकले आयोजना कार्यान्वयन व्यवस्थापन कार्यविधि २०७६ स्वीकृत गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ मा आयोजना कार्यालय स्थापना गरी सम्भाव्यता अध्ययनको काम पूरा गरिएको छ ।
 
आयोजना सञ्चालन गर्न आवश्यक पर्ने बजेटको ५० प्रतिशत कागेश्वरी मनोहरा, ३५ प्रतिशत गोकर्णेश्वर र १५ प्रतिशत शंखरापुर नगरपालिकाले व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ । सो रकमलाई ३ नगरपालिकाको सभाबाट सम्बोधन गरी विनियोजन ऐन २०७७/२०७८ मा उल्लेख गरेपछि गत आर्थिक वर्षदेखि नै काम अघि बढेको हो ।

बागमती र मनोहरा नदी किनारका फाँट रहेको आयोजनास्थलका बहाव क्षेत्रको दायाँबायाँ २०/२० मिटरमा सडकसमेत बनाउन नदिने गरी काम अघि बढाइएको इञ्जिनीयर घिमिरेले बताए । यसले गर्दा नदीमा बाढी आउँदा घर र व्यवसायी नडुबाउने गरी शहर निर्माण गरिँदैछ । राजधानीमा आवासीय क्षेत्रको माग पूरा गर्न काम शुरू गरिएको आयोजना प्रमुख इञ्जिनीयर दीपक श्रेष्ठले बताए ।
 
आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि जग्गाधनी तथा मोहीलाई जानकारी दिन अन्तक्र्रिया सञ्चालन गरिएको छ । आयोजनाअन्तर्गत नै गोकर्णेश्वर महादेव मन्दिर परिसरबाट सुन्दरीजलसम्मको वाग्मती कोरिडोरसमेत निर्माण गर्ने गरी योजना बनाइएको छ । यसका लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँग पनि समन्वय गरिने आयोजनाले जनाएको छ । 
     
अन्तक्र्रियामार्फत आयोजनामा सहभागी हुन निवेदन आह्वान गर्ने निर्णय पनि बैठकले गरेको गोकर्णेश्वरका नगर प्रमुख सन्तोष चालिसेले जानकारी दिए । सम्भाव्यता अध्ययनको काम सम्पन्न गरी हाल विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माणको काम भइरहेको छ । असोजसम्ममा प्रस्ताव तयार पारी मन्त्रिपरिषद्मा पारितका लागि पेश गरिने छ । 

मन्त्रिपरिषद्बाट प्रस्ताव पारित भएपछि मात्र आयोजनाले वैधानिकता पाउनेछ । वैधानिकता दिएर तिहारपछि स्थलगतरुपमै जग्गा एकीकरणको काम शुरू गर्ने आयोजनाको लक्ष्य छ ।
 
एकीकरण गरिने जग्गामध्ये १६ हजार रोपनी व्यक्तिको पर्ने प्रारम्भिक अनुमान समितिले गरेको छ । २ हजार रोपनी जग्गा भने सार्वजनिक, पर्ती, नदी, वन क्षेत्रको पर्ने जनाइएको छ । जग्गा एकीकरण गर्दा जग्गाधनीको ३५ प्रतिशत जग्गा काटिने भएको छ । त्यसमध्ये २० प्रतिशत सडक, ५ प्रतिशत खुला स्थानका लागि र १० प्रतिशत जग्गा बेचेर आयोजनालाई व्यवस्थित गर्ने सोच अघि सारिएको छ ।

हाल सडक नपर्ने जग्गाधनीबाट बढी जग्गा लिएर व्यवस्थित गर्ने सिद्धान्त पनि आयोजनाले अघि सारेको छ । यसै महिनादेखि आयोजनाका लागि जग्गा रोक्का गर्ने तयारी पनि आयोजनाले गरेको छ । – पूर्णप्रसाद मिश्र/रासस

salt training

कमेन्ट गर्नुहोस्