०८ साउन २०८३, शुक्रबार

भारतमा पेट्रोल-डिजेल बिक्रीमा सीमा निर्धारण- अब दिनमा २०० लिटर मात्रै किन्न पाइने

जेठ २९, २०८३
काठमाडौं
भारतमा पेट्रोल-डिजेल बिक्रीमा सीमा निर्धारण- अब दिनमा २०० लिटर मात्रै किन्न पाइने

भारले पेट्रोल पम्पहरूमा इन्धनको बिक्री वितरण व्यवस्थित बनाउन नयाँ निर्देशिका जारी गरेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जारी गरेको नयाँ आदेशअनुसार अब कुनै पनि पेट्रोल पम्पले एक जना ग्राहकलाई एक दिनमा २०० लिटरभन्दा बढी 'हाई स्पीड डिजेल' बिक्री गर्न पाउने छैनन् ।

यसका साथै नयाँ सरकारी आदेशले औद्योगिक, व्यावसायिक र संस्थागतजस्ता ठुला उपभोक्ताहरूलाई पेट्रोल पम्पबाट पेट्रोल र डिजेल खरिद गर्न पूर्ण रूपमा रोक लगाएको छ । यी ठुला उपभोक्ताहरूलाई आफ्नो आवश्यकताको इन्धन केवल 'बल्क सेल प्वाइन्ट' (थोक बिक्री केन्द्र) बाट मात्र खरिद गर्न भनिएको छ। यो नियम तत्कालै लागू हुने गरी अनिवार्य गरिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो प्रतिबन्ध शुरूआती चरणमा ९० दिनसम्म लागू रहनेछ । पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रालयको आदेशमा इन्धन बिक्रेता र तेल मार्केटिङ कम्पनीहरूलाई एक पटकमा ९० दिनसम्मको अवधिका लागि खुद्रा आउटलेट (पेट्रोल पम्प) बाट थोक खरिदमा रोक लगाउन स्पष्ट निर्देशन दिइएको छ।

मध्यपूर्वमा जारी गम्भीर सङ्कटका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचानक निकै बढेको छ । आम सर्वसाधारण जनतालाई महँगीको मारबाट जोगाउन सरकारी तेल कम्पनीहरूले सर्वसाधारणले किन्ने आम पेट्रोल पम्पहरूमा (खुद्रा मूल्य) इन्धनको दाम धेरै बढाएका छैनन् । तर, उद्योग र ठुला उपभोक्ताका लागि दिइने थोक (बल्क) इन्धनको मूल्य भने बढाइदिएका छन् ।

खुद्रे र थोक मूल्यबिचको यही ठुलो अन्तरका कारण ठुला व्यावसायिक उपभोक्ताहरूले घाटा कम गर्न पेट्रोल पम्पहरूबाटै इन्धन खरिद गर्न थालेका थिए । जसले गर्दा केही इलाकाहरूमा डिजेलको मागमा असामान्य रूपमा उच्च वृद्धि भएपछि सरकारले यो नियन्त्रणात्मक कदम चाल्नुपरेको समाचारमा उल्लेख छ ।

दूरसञ्चार (टेलिकम) टावर, विद्युत उत्पादन (जेनेरेटर) वा अन्य औद्योगिक प्रयोजनका लागि ठुलो परिमाणमा डिजेल प्रयोग गर्ने ठुला उद्योगहरूलाई बल्क सेल प्वाइन्टबाट महँगो दरमा इन्धन बेचिँदै आएको छ।

अहिले दिल्लीका पेट्रोल पम्पहरूमा खुद्रा डिजेलको मूल्य प्रतिलिटर ९५.२० रुपैयाँ रहेको छ। तर, सोही डिजेल ठुला उद्योगहरूले थोक मा किन्दा प्रतिलिटर १३४.५० रुपैयाँ तिर्नुपर्छ । यही मूल्यको ठुलो भिन्नताका कारण बजारमा देखिएको असन्तुलन रोक्न र सर्वसाधारणका लागि इन्धनको अभाव हुन नदिन सरकारले पेट्रोल पम्पबाट हुने थोक बिक्रीमा कडा नाकाबन्दी लगाएको समाचारमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्