कोरोना कहर : ‘साइड’ लाग्दै लेकसाइडका पर्यटन व्यवसायी

विजय उत्सव
विजय उत्सव

पत्रकार विजय उत्सव लोकान्तरका गण्डकी प्रदेश प्रतिनिधि हुन् ।

‘नयाँ वर्षपछि व्यवसाय हुन्छ कि भन्ने लागेको थियो, दोस्रो लहरको कोरोना आइहाल्यो । यस वर्ष २ महिनासम्म बन्द गरेरै बसियो । प्रशासनले अनुमतिले सटर खोल्न थालेको फेरि तेस्रो लहर आउने भन्छन् व्यापार चौपट भो । यस्तै हो भने अर्को महिना सामान प्याक गर्छु ।’

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा झण्डै १ करोड लगानी गरेका चन्द्र्रप्रसाद पौडेलले निराशाको पहाड सुनाए । ‘व्यवसाय गरेको २० वर्ष भो । जानेको यही हो । अब अर्को व्यवसाय के गर्नु ?’ शुक्रवार लोकान्तरसँगको कुराकानीमा पौडेलले गुनासो पोखे, ‘विदेशी पर्यटक नआएसम्म र ट्रेकिङ नभएसम्म हाम्रो व्यापार हुँदैन । कतिञ्जेल भाडा तिरेर बस्नु ?’


Advertisement

ट्रेकिङ इक्युपमेन्ट शप एशोसिएशन (टेसा) पोखराका पूर्व अध्यक्ष पौडेलले लेकसाइडमा फुलमुन ट्रेकिङ शप चलाउँदै आएका छन् । उनको पसलमा ट्रेकिङको लागि अत्यावश्यक सामान बिक्री वितरण गरिन्छ । विश्वभर कोरोना महामारीले अघिल्लो वर्ष नै उनले पसलका कर्मचारी कटौती गरेर घर बस्न भनेका थिए ।

‘आवश्यक परे बोलाउँछु’ भनेका उनले व्यापार नहुँदा आफैं घर फर्किने अवस्थामा पुगेका हुन् । यसपालि गत वैशाख दोस्रो सातादेखि बन्द गरेका उनले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (लकडाउन) केही खुकुलो पार्दै बिहानदेखि साँझसम्म पसल खोल्न दिएको छ । तैपनि लक्षित ग्राहक नहुँदा दिनभर पसल कुर्नुबाहेक केही नहुने उनी बताउँछन् । 


Advertisement

उनले घरधनीलाई मासिक ५० हजार रुपैयाँ भाडा बुझाउनुपर्छ तर पछिल्ला महिना बुझाउन नसकेपछि घरधनीले अग्रिम भुक्तानीबाटै कटौती गर्दै आएको उनले सुनाए । टेसामा आबद्ध ७० जना व्यवसायी छन् । सबैजसोको अवस्था चन्द्रप्रसादको जस्तै छ ।

अघिल्लो वर्ष नै करीब १० व्यवसायीले सामान पोको पारेर यो व्यवसायबाट हात झिकिसकेका टेसाले जनाएको छ । 

यस्तै प्रकृतिको व्यवसाय गर्छन्, शंकरराज सुवेदी । उनी टेसाकै सदस्य हुन् । पोखराको हल्लन चोकमा उनले विगत ८ वर्षदेखि लक्की माउन्ट ट्रेकिङ शप चलाउँदै आएका छन् । पसलमा करीब ६०–७० लाख लगानी परेको छ । मासिक भाडा ४० हजार बुझाउनुपर्छ ।

शंकरराज सुवेदी

‘कोरोना महामारी नहट्दासम्म अब व्यवसाय हुँदैन । हामीहरूलाई गत वर्ष नै समस्यामा पारेको हो । अहिले होला कि भनेको फेरि कोरोनाका विभिन्न लहरले घरभाडा तिर्न पनि मुस्किल भैसक्यो,’ सुवेदीले भने, ‘अब पनि पोहोरकै जस्तो अवस्था आए व्यवसाय चलाउन सक्ने अवस्था हुँदैन ।’

‘घरधनीले भाडा छुट गरिदिए केही राहत हुन्थ्यो । त्यसका लागि पर्यटनसम्बद्ध संघसंस्थाले पहल गर्नुपर्छ,’ उनी भन्छन् । पोखराको सराङ्कोट निवासी सुवेदीले व्यवसाय थाल्नुअघि कृषि पेशामा आबद्ध थिए । लेकसाइडमा गोराहरू (पर्यटक) को चहलपहल बढी हुने हुँदा साथीभाइको सुझावमा टे«किङका सामान बिक्री वितरणका लागि आधा करोड लगानी गरेका थिए । पसल सञ्चालनको शुरूआतमा राम्रै जस्तो भए पनि लगत्तै भूकम्प, कोरोना लगायतले पर्यटन क्षेत्रमा बाधा पारेको उनको बुझाइ छ ।

कोरोना प्रभावले कति क्षति परेको होला भन्ने जिज्ञासामा उनले भने, ‘भाडै तिर्न पुगेको छैन । क्षतिको कुरै नगरम् । जसलाई पर्‍यो, पर्‍यो । पर्ख र हेरको अवस्थामा छु । अब केही नभए पहिलेकै कृषि पेशामा लाग्छु ।’  

पपुलर बुक्स् एण्ड स्टेसनरी

उमा रेग्मी भण्डारी पनि पोखराकै पर्यटन व्यवसायी हुन् । उनले पर्यटकीय क्षेत्र लेकसाइडमा विगत २५ वर्षदेखि पपुलर बुक्स् एण्ड स्टेसनरी चलाउँदै आएकी छन् । व्यवसायमा अहिलेजस्तो समस्या र प्रभाव कहिले नपरेको उनको भनाइ छ । पसलमा १ करोड बढी लगानी परेको बताउने भण्डारीले कोरोना प्रभावकै कारण हालसम्म २ करोड बढी घाटा नै भएको दाबी गरिन् ।

पसलको आम्दानीले नवनिर्मित घरको किस्ता ब्याज तिर्ने उनको योजनामा ठक्कर लागेको छ । ‘यता व्यापार छैन । घरधनीलाई मासिक ६० हजार रुपैयाँ भाडा तिर्नुपर्छ,’ उनले भनिन्, ‘उता आफ्नो घरको किस्ता व्याज तिर्न नसक्दा खप्टिएको खप्टियै छ ।’

उमा रेग्मी भण्डारी

कोरोना प्रभावअघि पसलमा मासिक ७ लाख रुपैयाँ जति आम्दानी हुने गरेकोमा अहिले अन्य पर्यटनसम्बद्ध व्यवसायमा झैं आफ्नोमा पनि प्रभाव परेको उनले बताइन् । 

सन् २०१९ अन्त्यतिर छिमेकी मुलुक चीनमा देखा परेको कोभिड–१९ को लहर विश्वभर फैलियो । नेपालमा सबैभन्दा प्रभावमा परेको क्षेत्रमध्ये एक हो पर्यटन । पर्यटनभित्र ट्रेकिङ इक्प्युप्मेन्ट शप, होटल तथा रिसोर्ट, रेस्टुरेन्ट तथा बार, ट्रेकिङ एजेन्सी, ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, इम्ब्रोइडरी एण्ड गार्मेन्ट शप लगायत पर्छन् । कोरोनाको बढी असर होटल, रेस्टुरेन्ट, टे«किङ सामग्रीका पसल, बूक शप, ट्राभल एजेन्सी, प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपफ्लायर, बन्जी जम्प, र्‍याफ्टिङ, हट एयर बेलुन, डुंगा व्यवसाय लगायतमा बढी परेको छ । 

पोखराको पर्यटकीयस्तरका ५०० बढी होटल तथा रिसोर्ट छन् । त्यसमा करीब १८ हजार बेड छन् । पोखराको पर्यटन क्षेत्रमै हालसम्म ५ खर्ब जतिको लगानी छ । पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचन भन्छन्, ‘विगतको तुलनामा पर्यटन क्षेत्रका लागि सन् २०२० सबैभन्दा बढी नकारात्मक बन्यो । अब मास टूरिजम पहिलेझैं फर्काउन धेरै वर्ष कुुर्नुपर्छ । पर्यटन क्षेत्र पुनर्जीवन दिन सरकारले राहतस्वरूप घोषणा गरेको पुनर्कर्जा सुविधा तत्काल दिने व्यवस्था गर्नुपर्छ ।’

ठूला, साना तथा मझौला सबै प्रकारका पर्यटन व्यवसायीहरू पलायन हुनबाट जोगाउन सबै तहका सरकारले समन्वय गर्नु आवश्यक रहेको तुलाचन बताउँछन् । 

कास्कीमा प्रशासनले साउन ५ गतेसम्म निषेधाज्ञा कायमै राखेको छ । विभिन्न सेवा खुकुलो पारिए पनि अझै पनि होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, चिया तथा खाजा पसल, मोटेल, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्यूटीपार्लर, शैलुन, फूटपाथ पसल, सिनेमा हल खोल्न मनाही छ । पसल आंशिकरूपमा खुले पनि लेकसाइडमा अझै चहलपहल छैन । सुनसान प्रायः छ । बिहानदेखि साँझसम्म बसे पनि कारोबार नहुने व्यवसायीको गुनासो छ । 

पर्यटन परिषद् पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले २५ प्रतिशत पर्यटन व्यवसायीहरू र ५० प्रतिशत मजदुर पलायन भएको बताए । घर, सटर तथा जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेकाहरू साना तथा मझौला प्रकारका व्यवसायीहरू बढी मारमा परेका उनी बताउँछन् ।  

नेपाल घुम्नका लागि सुरक्षित छ भनी सकारात्मक सन्देश विश्व बजारमा प्रवाह गर्न खोपको प्राथमिकता अनिवार्य रहेको पोखरा पर्यटन परिषद् अध्यक्ष भट्टराईको भनाइ छ । आफूहरूले अघिल्लो हप्ता पनि तीनै तहका सरकारसमक्ष पर्यटन क्षेत्रका व्यवसायी, कर्मचारी र मजदुर गरी ३० हजार संख्यामा खोप आवश्यक रहेको भनी ज्ञापनपत्र बुझाएको उनले बताए । 

सम्पूर्णलाई कोरोनाविरुद्ध खोप सुनिश्चितपछि महामारी संक्रमण कमी हुँदै गए मात्र पर्यटकीय गतिविधि बल्ल बढ्न सक्ने देखिएको छ । नभए पोखराको पर्यटन क्षेत्र अझै कति वर्ष पछाडि धकेलिने हो ? अनिश्चित छ । 

विजय उत्सव
विजय उत्सव

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्