
नेकपा एमालेको माधव नेपाल पक्षका सांसदको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपनि नेपाल पक्षका सांसद प्रतिपक्षी सिटमै बस्ने भएका छन् ।
नेपाल समूहले देउवालाई विश्वासको मत दिने तयारी गरेको समेत चर्चा छ ।
सामान्यतया सरकारलाई समर्थन गरेका सांसद सत्तापक्षको कुर्सीमा बस्ने भएपनि माधव नेपाल समूहका सांसदहरु विपक्षी कुर्सीमै बस्ने भएका हुन् ।
सर्वोच्च अदालतको असार २९ गतेको फैसलाले कांग्रेस सत्तापक्ष र एमाले प्रतिपक्षमा पुगेको थियो ।
संसद सचिवालयका एक अधिकारीले दल विभाजनको सूचना निर्वाचन आयोगले दिएपछि मात्र सचिवालयले सांसदको बस्ने ठाउँ हेरफेर हुने बताए ।
‘निर्वाचन आयोगबाट हामीलाई जानकारी नआउँदासम्म उहाँहरु एमाले हो र एमालेकै सीट अर्थात प्रतिपक्षमा बस्नुहुन्छ’ सचिवालयका ती अधिकारीले लोकान्तरसँग भने ।
प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वोच्च अदालतमा जवाफ पठाउने क्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै पार्टी सत्तापक्ष र प्रतिपक्षमा रहने विडम्बनापूर्ण अबस्था आउने बताएका थिए ।
पछिल्लो पटक वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बैठकमा माधव नेपाल पक्षका सांसदहरु उपस्थित भएका थिएनन् । पुनःस्थापित प्रतिनिधि सभाको आजको बैठकमा भने नेपाल समूहका सांसदहरु सहभागि हुने भएका छन् ।