
संघीय व्यवस्थापिका संसद कार्य व्यवस्था परामर्श समितिको बैठक सकिएको छ ।
आइतवार अपरान्ह ४ बजे बस्ने संसद् बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।
आइतवारको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेका छन् ।
गत जेठ ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरेको संसद सर्वाेच्च अदालतले बदर गरेपछि आज पहिलो पटक प्रतिनिधि सभाको बैठक बस्न लागेको हो ।
आजको संसद बैठकमा ओली सरकारले ल्याएका सबै अध्यादेश पेश गर्न नेकपा एमालेले दबाब दिएको छ ।
बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ओली सरकारले ल्याएका सबै अध्यादेश आइतवारकै संसद बैठकमा पेश गर्न माग गरेका हुन् ।
‘सरकारले उनीहरूको रूचिका विषय मात्रै संसद् बैठकले ल्याउने तयारी गरेका रहेछन् । हामीले ७ औं र ८ औं अधिवेशनको बीचमा आएका अध्यादेशमा कुनै पनि किसिमको छुट हुँदैन । सबै अध्यादेश संसद्मा आउनुपर्छ भनेका छौं । उहाँहरूले पनि ल्याउने भन्नु भएको छ,’ भट्टराईले लोकान्तरसँग भने ।
सरकारले बेपत्ता छानबिन आयोग, यौन हिंसासम्बन्धी, फौजदारी अभियोग तथा फौजदारी न्यायसम्बन्धी, नेपाल प्रहरी र प्रदेश प्रहरी, सामाजिक सुरक्षा, कोभिड–१९, रेल्वे सम्बन्धी विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री देउवाले संसद्को आइतवारै बस्ने दोस्रो बैठकमा विश्वासको मत लिँदैछन् ।