

अघिल्लो जन्ममा बाँकी रहेको काम पूरा गर्नका लागि साइरा (कृति सानोन), शिव (सुशान्त सिंह राजपूत) र जाकिर (जिम सर्भ) यो जन्ममा भेट हुन्छ । यही कथा हो दिनेश विजनको पहिलो निर्देशकीय प्रयास राब्ताको ।
पूर्वजन्मको संस्कारले कमजोर स्क्रिप्ट अघि बढाउन मद्दत गरेको छ । शिवले गुण्डोजस्तो व्यवहार गरेपनि साइरा उनीप्रति आकर्षिक हुन्छिन् यही पूर्वजन्मको संस्कारका कारण । अनि उनी जाकिरको छालाको रंग र अनौठो व्यवहारका बाबजुद उसप्रति आकर्षित हुन्छिन् ।
सिद्धार्थ र गरिमाले तयार पारेको स्क्रिप्टमा धेरै समस्या छन् । राब्ताले पुनर्जन्मको कथामाथि बनेका फिल्महरूको पुरानै फर्मुला अपनाएको छ र यसमा रहस्य तथा बिछोडको पीडा राम्रोसँग आउन सकेको छैन ।
दुई घन्टा २८ मिनेट लामो फिल्म हंगेरीको राजधानी बुडापेस्टबाट शुरु हुन्छ र उक्त शहर फिल्ममा गजबको देखिन्छ । शिवले त्यहाँ भेटिने सबै स्थानीय महिलासँग फ्लर्ट गर्छ र उनीहरू पनि यो भारतीय युवकप्रति आकर्षित हुन्छन् । अचानक साइरासँग भेट भएपछि शिव यताउता लाग्न छोड्छ तर यही बेलामा जाकिर हेलिकप्टर लिएर साइरालाई खोज्न हिँड्छ ।
हुन त जाकिरलाई करोडपति भनिएको छ तर गतिलो खान नपाएको जस्तो देखिने र दाह्री पनि नकाटेको जाकिरले केही क्षणका लागि भएपनि साइरालाई आकर्षण गर्छ । ऊ बुडापेस्टमा निको हुन गएको हो कि पूर्वजन्मका घटनालाई सुधार्न ? जिभ सर्भले राब्तामा पुरानो जमानाको भिलेन जस्तो अभिनय गरेका छन् । उनको झुर अभिनयको तुलनामा सुशान्त राजपूत महान् कलाकार लाग्छन् ।
राब्ताको अर्थ हुन्छ सम्पर्क । यो सम्पर्कले फिल्मको पहिलो हाफलाई अघि बढाउँछ । सुशान्त र कृतिको केमिस्ट्री इन्टर्भलअघि राम्रो देखिन्छ र जाकिरको हेलिकप्टर बुडापेस्ट झरेपछि राब्ता झुर हुन थाल्छ । फिल्म बनाउनेहरूले पुनर्जन्मको विषयलाई रमाइलो बनाउन सकेका छैनन् र अघिल्लो जन्मको गल्ती यो जन्ममा पनि दोहोरिएको देखाएका छन् ।
सुशान्तले फिल्ममा घरीघरी शर्ट खोल्ने र पानीबाट बाहिर निस्कने दृश्य देखाएका छन् भने कृति चाहिँ कथाले मागे अनुसार कुनै दृश्यमा खुल्ने र कुनैमा ढाकिने गरेकी छन् । बुडापेस्टमा एक भारतीयले स्थानीय महिलालाई जिस्क्याउँदा पनि कुनै प्रहरीले कारवाही नगरेको अचम्म लाग्छ ।