०४ असार २०८३, बिहीबार

कालिकोटको रास्कोट अस्पतालमा अक्सिजन प्लान्ट जडान

साउन ४, २०७८
कालिकोटको रास्कोट अस्पतालमा अक्सिजन प्लान्ट जडान
प्रतिकात्मक तस्वीर

कालिकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ ।

कोभिड–१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनि अक्सिजन प्लान्ट जडान गरेको हो । 

विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड–१९ को महामारीबाट बचाउन आविष्कार केन्द्रले स्वास्थ्य सामग्री निर्माण गरी निःशुल्क वितरण गर्दै आएको सो केन्द्रका रितेश देवले बताए ।

‘हामीले देशका विभिन्न भागमा स्वास्थ्य सामग्री वितरण गर्दै आएका छौं,’ उनले भने, ‘त्यसै आधारमा कर्णाली प्रदेशको रास्कोट नगरपालिकाको रास्कोटमा पनि मिनि अक्सिजन प्लान्ट जडान गरेका हौं ।’

मिनि अक्सिजन प्लान्टबाट प्रतिमिनेट ६० लिटर अक्सिजन उत्पादन हुने र अक्सिजन प्लान्ट जडान गरेर १० वटा शय्या अक्सिजन सिलिन्डर जडान गरिएको देवले बताए ।

‘कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहोस् भनेर प्लान्ट जडान गरिएको छ,’ उनले भने, ‘दुर्गम क्षेत्रलाई आविष्कार केन्द्रले विशेष महत्त्व दिएको छ ।’

कोरोना संक्रमितलाई अक्सिजनको अभावमा बाहिर रिफर गर्नुपर्ने अवस्था रहेकोमा अब अक्सिजन प्लान्ट जडान भएपछि जटिल खालका बिरामीलाई अस्पतालमा नै उपचार गर्न सकिने रास्कोट अस्पतालका प्रमुख डा. भोजराज बमले जानकारी दिए ।

बिरामीलाई श्वासप्रश्वासको समस्या भए बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको रहेकोमा अब भने यही अस्पतालमा नै उपचार गर्न सकिने जानकारी उनले दिए ।

कोरोना महामारी आउना साथ आफूहरूले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए । 

‘कोभिड–१९ को संकट आउनासाथ हामीले त्यसको रोकथाम नियन्त्रणका लागि स्वास्थ्य सामग्री उत्पादन गर्दै आएका छौं,’ उनले भने, ‘अहिले हामीले ती सामग्री पश्चिमका जिल्ला र पूर्वका पहाडी दुर्गम ठाउँका स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्दै आएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्