
गुल्मी, २६ जेठ - सत्यवति गाउँपालिका ७ जुनियाँका ३५ बर्षिय रावण नेपालीले गत जेठ ९ गते आफ्नै ६ बर्षिया नाबालिका छोरीलाई बलात्कार प्रयास गरे । मादक पदार्थ सेवन गरेका आरोपितले आमा नभएको बेला बलात्कार प्रयास गरेको जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटका प्रहरी असई सत्यनारायण यादवले बताए । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
त्यस्तै गत फागुन ७ गते सदरमुकाम नजिकै रेसुंगा नगरपालिका ११ का १३ र १४ बर्षिया बालिकाहरु सामुहिक बलात्कारमा परे । रेसुंगा नपा ११ का १८ बर्षिय रमेश तङनामी र १४ बर्षिय सुरज कुवंरले नजिकैको जंगलमा बालिकाहरुलाई सामुहिक बलात्कार गरेका थिए । सोहि दिन प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको थियोे ।
रेसुंगा नगरपालिका १२ का ३१ बर्षिय कृष्ण प्रसाद अर्यालले गते पुस २८ गते १४ बर्षिया बालिकालाई घर नजिकैको पँधेरामा बलात्कार गरे । आरोपितले बालिकालाई बलात्कार गर्नुको साथै हात र घाँटीमा टोकेको असई सत्यनारायण यादवले बताए । उनी अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन् । यी घटनासंगै १० महिनामा पाँच जना बालिका बलात्कारको शिकार भएका छन् । जसमा कम उमेरकी ६ बर्षियादेखि १७ बर्ष सम्मका बालिका बलात्कारमा पर्ने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा रहेको छ ।
अपाङ्ग महिला पनि बलात्कृत
रुरु गाउँपालिका–६ रिमुवाका ४६ बर्षिय लक्ष्मी प्रसाद ज्ञवाली गत शुक्रबार दिउँसो ४२ बर्षिया अपाङ्ग महिलालाई बलात्कार गरे । उनका आफन्तले सोहि दिन प्रहरीमा उजुरी दिए । उजुरीको आधारमा प्रहरीले शनिबार ज्ञवालीलाईे पक्राउ ग¥यो । ज्ञवालीले रिमुवाको चिदियारपानी भन्ने स्थानमा पीडित महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले बताए । पीडित महिला बोल्न र सुन्न सक्दैनन् । अहिले आरोपित प्रहरी हिरासतमा रहेका छन् । पीडित महिलाको जिल्ला अस्पताल तम्घासमा स्वास्थ्य परिक्षण गरिएको छ ।
७३ बर्षे बृद्ध पनि बलात्कारमा संलग्न
चन्द्रकोट गाउँपालिका २ का ७३ वर्षीय चुन्नप्रसाद रानाले २२ वर्षीया युवतीलाई फागुन १२ गते बलात्कार गरे । युवतीका आफन्तले सोहि दिन प्रहरीमा उजुरी गरे । पीडित पक्षको उजुरीका आधारमा सोहि दिन आरोपितलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले बताए । जिल्ला भएका धेरै बलात्कारहरु मदिरा सेवनपछि हुने यौन आवेकका कारण भइरहेको नेपालले बताए ।
बलात्कारको तीन बर्षे तथ्याङ्क
जिल्ला प्रहरी कार्यालय गुल्मीको रेकर्ड अनुसार यो आर्थिक बर्षमा सात जना महिला बालबालिका बलात्कार भए । जसमा पाँच बालिका र दुई महिला छन् । त्यस्तै आर्थिक बर्ष ०७२÷०७३ मा छ वटा बलात्कारका घटना घटे । ०७१/०७२ मा १० र ०७०/०७१ मा १७ वटा बलात्कारका घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी महेन्द्र नेपालले बताए ।