०४ असार २०८३, बिहीबार

गलवानमा मर्ने सैनिकको वीरगाथा प्रकाशन गर्‍यो चीनले

साउन ५, २०७८
गलवानमा मर्ने सैनिकको वीरगाथा प्रकाशन गर्‍यो चीनले

लद्दाखको गलवान उपत्यकामा पोहोर साल भएको हिंस्रक संघर्षमा मारिने सैनिकहरूको वीरगाथा प्रकाशन गरेको छ ।

चन होङजुन नामक सैनिकको वीरतालाई चीनको सरकारी सञ्चारमाध्यममा वर्णन गरिएको छ । 

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वालाई उद्धृत गर्दै ग्लोबल टाइम्सले ३३ वर्षीय बटालियन कमान्डर चनले सीमामा ड्युटी निर्वाह गर्ने क्रममा आफ्ना अन्य तीन साथीसँगै ज्यान गुमाएको खबर दिएको छ । 

ती सैनिकहरू सिन्ज्याङ मिलिटरी कमान्ड अन्तर्गत तैनाथ थिए र काराकोरमको पहाडमा खटिएर सीमा सुरक्षा गरिरहेका थिए । 

चीन मामिलाविद् तथा अस्ट्रेलियन स्ट्राटेजिक पोलिसी इन्स्टिच्युटका अनुसन्धाता नेथन रुसरले झडप भएको ठाउँ भारतीय सीमाको ५० मिटर भित्र रहेको जियोलोकेटरबाट पत्ता लाग्ने बताएका छन् । 

त्यो दाबी यदि सही हो भने भारत सीमामा प्रवेश गरेर चीनले आक्रमण गरेको पुष्टि हुन्छ । आफ्नो सीमामा प्रवेश गरेको चिनियाँ सेनालाई त्यहाँबाट हटाउन भारतीय सेना जाँदा रातको समयमा भिडन्त भएको हो । 

ग्लोबल टाइम्सले चन होङजुनका बारेमा लेख्यो, ‘लडाइँको बेलामा रेजिमेन्टल कमान्डर की फाबाओलाई भारतीय सैनिकहरूले घेराबन्दी गर्दा चन आफ्ना सैनिकहरूका साथ अघि बढेका थिए । भारतीय जवानहरूसँग लट्ठी र ढुंगाका साथ लडाइँ गर्न उनी अघि बढेका हुन् । चनले आफ्नो शरीरलाई ढाल बनाएर कमान्डरलाई बचाए । अन्य चिनियाँ सैनिकहरू पनि घेराबन्दीमा परेको देखेपछि चन फेरि लडाइँमा होमिए ।’

यस संघर्षमा २० जना भारतीय सैनिक मारिएका थिए । तीमध्ये अधिकांशको मृत्यु चिसो पानीमा खसेर भएको थियो । 

*यसअघि गलवानमा मर्ने सैनिकको संख्या थप्यो चीनले शीर्षकमा छापिएको खबर ग्लोबल टाइम्समा छापिएको खबरका आधारमा बनाइएको थियो । त्यसमा गलवान भिडन्तमा पाँचजना चिनियाँ सैनिक मारिएको उल्लेख थियो । तर ग्लोबल टाइम्सले त्यो खबर छापेको भोलिपल्ट भूलसुधार गर्दै गलवानमा चारजना मात्र चिनियाँ सैनिक मारिएको स्पष्ट पारेको छ । त्यसैले लोकान्तरले पनि भूलसुधार गर्दै शीर्षक र लीड सच्याएको छ । पाठकहरूलाई पर्न गएको असुविधका लागि हामी क्षमाप्रार्थी छौं । 

salt training

कमेन्ट गर्नुहोस्