
जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संसदीय दलको विधान पारित गरेको छ ।
सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकबाट परिमार्जित दलको विधान बहुमतले पारित भएको सांसद प्रमोद साहले बताए । अब अनुमोदित विधान कार्यकारिणी समितिमा पठाइने उनको भनाइ छ ।
ज्येष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा संसदीय दलको कार्यालयमा बैठक बसेको थियाे ।
प्रतिनिधि सभाका १८ जना र राष्ट्रिय सभाका २ जना सदस्य सहित कुल २० जना सांसदले उक्त विधान पारित गरेको साहले बताए ।
महन्थ ठाकुर पक्षबाट उपेन्द्र पक्षमा आएका सांसदहरू प्रमोद साह, अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, रूही नाज, रेनुका गुरुङसहित ६ जना सांसद आजको बैठकमा उपस्थित भएका थिए । त्यसबाहेक जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि उक्त बैठकमा उपस्थित थिए ।
'उहाँलाई पार्टीले निलम्बन गरेको छैन, विशेष अदालतमा मुद्दा लागेर निलम्बन भएको हुनाले उहाँलाई पनि बैठकमा उपस्थित गराइएको थियो,' जसपाका एक सांसदले लोकान्तरलाई बताए ।
जसपामा कुल ३४ जना प्रतिनिधि सभाका सदस्य रहेकोमा रेशम चौधरी र रौनियार निलम्बित छन् । त्यसै गरी राष्ट्रिय सभामा कुल ३ जना सांसद छन् । जसमध्ये दुई जना उपेन्द्र समूहमा छन् ।
ठाकुर पक्षका राष्ट्रिय सभा सदस्य मृगेन्द्रसिंह यादव उपेन्द्र समूहमा आएका छन् । ठाकुर पक्षमा अब कुल १४ जना प्रतिनिधि सभा सदस्य र एक जना राष्ट्रिय सभा सदस्य मात्र छन् ।
'यसअघि विधानमा केही कमी कमजोरी थियो, त्यसलाई सच्याएर दलको ऐन, कानूनसँग मिल्ने गरी परिमार्जन गरेर विधान पारित गरिएको छ,' सांसद साहले बताए ।
संसदीय दलको विधान पारित भएसँगै अब संसदीय दलको नेताको निर्वाचनका लागि प्रक्रिया अगाडि बढ्नेछ । यसअघि ठाकुर पक्षले जसपाको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको थियो ।