
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेश सरकारमा हेरफेर गर्दै ‘मोदी मोडल’ लागू गर्न पार्टीबाट अनुमति पाएका छन् ।
हालै केन्द्र सरकारमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको मन्त्रिपरिषद् पुनर्गठनकै शैलीमा प्रदेश सरकारमा समेत पुनर्गठन गर्न सकिने अनुमति मुख्यमन्त्री योगीलाई मिलेको छ ।
मुख्यमन्त्री योगीले मन्त्रिपरिषद् पुनर्गठनबारे भारतीय जनता पार्टी (भाजपा) शीर्ष नेतृत्वसँग परामर्श लिएका थिए । पार्टी नेतृत्वले ‘मोदी मोडल’ अपनाउन सकिने सुझाव दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
‘मोदी मोडल’ अनुसार मन्त्री हेरफेर गर्दा जातीय, क्षेत्रीय समीकरण, युवा नेता र विषयगत विज्ञलाई सरकारमा प्राथमिकता दिनुपर्नेछ । आगामी वर्ष उत्तर प्रदेशमा विधानसभा निर्वाचन समेत हुने भएकाले त्यसलाई लक्षित गरेर सावधानीपूर्वक मन्त्री हेरफेर गर्न नेतृत्वले मुख्यमन्त्री योगीलाई निर्देशन दिएको छ ।
मोदीले हालै केन्द्रीय मन्त्रिमण्डलबाट पाका र कमजोर प्रदर्शन गरेका नेतालाई बिदा गरेका थिए भने नयाँ थपिएका मन्त्रीमा जातीय, क्षेत्रीय समीकरण, युवा, महिलालाई प्राथमिकता दिएका थिए । उत्तर प्रदेशबाट मात्रै केन्द्रीय मन्त्रिपरिषद्मा ७ जना नयाँ अनुहार थपिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केन्द्र सरकारमा हाल उत्तर प्रदेशबाटै १ दर्जन मन्त्री छन् ।