
नेकपा माओवादी छाडेर एमालेतिर लागेकाहरुको सक्रियतामा ‘आईटी आर्मी’ को घोषणा गरिएको छ। ‘आईटी आर्मी’ घोषणा कार्यक्रममा बोल्दै नेकपा(एमाले)का नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रान्ति भएको दावी गरे । रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरेजसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गरेको बताए ।
सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको उनले बताए । उनले संसदको औचित्य समाप्त भइसकेको उल्लेख गर्दै यस विषयलाई जनतामाझ उजागर गर्न आईटी आर्मिले भुमिका खेल्नुपर्ने बताए । उनले भने, ‘यो भन्दा जनताको जनादेशको अपमान के हुन्छ ? तिनै नेताहरु आफ्नो औचित्य सिद्धिइसक्यो, आफ्नो अधिकार अर्कोले लिईसक्यो । एक प्रकारले भन्ने हो भने अघोषित रुपमा प्रतिक्रान्ति भइसक्यो । अघोषित प्रतिक्रान्ति हो यो । राजनीतिक पार्टी, दलहरु र जनप्रतिनिधिले गर्नसक्ने निर्णय अर्कैले गरिदिने भनेको त प्रतिक्रान्ति हो ।’
नेकपा(एमाले)का नेता प्रभु साहले राज्यका अंगहरुबीचको सन्तुलन कायम हुन नसकेको बताए । सर्वोच्च संस्था राष्ट्रपतिले गरेको निर्णयलाई पनि उल्ट्याउने स्थिति बनेको भन्दै उनले न्यायाधीशहरुको भुमिका न्याय दिने नदेखिएको बताए । उनले आईटी आर्मिले राज्यका निकायमा भएका कमी कमजोरीहरूलाई औँल्याउँदै जनतालाई सुसूचित गराउनु जरुरी रहेको बताए । उनले भने, ‘हाम्रा शक्ति सन्तुलन जसरी कायम हुनुपथ्र्यो विभिन्न निकायमा, राष्ट्रपतिजी जो सर्वोच्च संस्था हो । उहाँको निर्णयलाई तलका निकायले पुनरावलोकन गर्ने स्थिति भईरहेको छ । जनादेशलाई परमादेशले उल्ट्याउने स्थिति खडा भइरहेको छ । न्याय निरुपण गर्ने न्यायाधीशहरुको भुमिका हेर्ने हो भने न्याय निरुपण भन्दा पर गएको देखिन्छ ।’
नेकपा(एमाले)मा गएका पूर्व माओवादी नेताहरुले श्रमजीवी तथा उत्पिडित जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि र विकास सहित समाजवादी व्यवस्था निर्माणमा सहयोग गर्ने भन्दै आइटी आर्मि गठन गरेका हुन् । चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी रहनेगरी तिनै तहमा संगठन निर्माण गर्नेगरी आईटी आर्मि घोषणा गरिएको हो ।
आईटी आर्मीले समाजको विकृति, विसङ्गति विरुद्ध जनचेतना अभिवृद्धि गर्ने, भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहीनता एवं अस्थिरता विरुद्ध संघर्ष गर्ने, समाजमा विद्यमान विभेद, शोषण, दमन तथा उत्पीडन रोक्न सक्रिय रहने, देश–दुनियाँमा भईरहेको सुशासन, सदाचार, विकास र समृद्धिसँग सम्बन्धित सकारात्मक कार्यहरुको प्रचार प्रसार गर्ने, खिचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्ने, जनवादी क्रान्ति वा समाजवादी व्यवस्था निर्माणको लागि हुने गतिविधिहरुमा सहभागी भई सहयोग गर्ने लगायतको काम गर्ने जनाइएको छ ।