०९ असार २०८३, मंगलबार

साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा

साउन ५, २०७८
साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

बोर्डको बैठकले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर कोभिड–१९ बाट सुरक्षित हुँदै आफू अध्ययन गरेको विद्यालयमा भौतिकरुपमा परीक्षा दिने गरी विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) निर्धारण गरेको छ ।

 कक्षा १२ मा परीक्षाको तयारीमा रहेका करिब तीन लाख ८६ हजार विद्यार्थीका लागि बोर्डले देशभरमा चार हजार ३१० परीक्षा केन्द्र निर्धारण गरेको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित परीक्षा सञ्चालनलाई अनुमति दिएपछि बोर्डको बैठक भौतिक उपस्थितिमा होम सेन्टरमा परीक्षा सञ्चालनको निर्णय गरेको उनले जानकारी दिए ।

बोर्डले गत जेठमा सञ्चालनको तयारी गरेको परीक्षा कोभिड–१९ को सङ्क्रमण उच्च भएपछि सरकारले गरेको निषेधाज्ञाका कारण परीक्षा स्थगित भएको थियो । यसअघि गत वर्ष बोर्डले ४० प्रतिशत मूल्याङ्कनका लागि परीक्षा लिएको थियो भने यस वर्ष शतप्रतिशत नै परीक्षा लिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्